बैशाख ०६, २०८२, शनिबार

खजे दुरालाई राष्ट्रिय विभूति बनाउन माग


Advertisement Image
clock icon 3 days, 13 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । दुरा सेवा समाजले खजे दुरालाई राष्ट्रिय विभूति बनाउन माग गरेकाे छ । दुरा सेवा समाजको ३२औं वार्षिकोत्सवमा बोल्दै दुरा जातिका अगुवाले खजे दुराले दुरा जातिका लागि मात्र नभइ राज्यका लागि समेत ठूलो योगदान दिएकाले राष्ट्रिय विभूति बनाउन माग गरेका हुन् ।

कार्यक्रममा संघीय सूचना तथा सञ्चार मन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय विभूति बनाउन आफूले सक्दो सहयोग गर्ने र तत्कालका लागि दुरा भाषामा समाचार पढ्ने, प्रकाशन गर्नुका साथै ठाडो भाखाका सर्जक देउबहादुर दुरालाई हुलाक चिठ्ठीमा राख्ने बताएका छन् ।

लमजुङको मध्यनेपाल नगरपालिका १० स्थित दुरा जातिको वर्चश्व रहेको हाँडीखोलामा आयोजित दुरा सेवा समाजको ३२औं वार्षिकोत्सवको सम्बोधन गर्दै मन्त्री गुरुङले दुरा जातिको प्रबर्द्धनका लागि सरकारले सञ्चालन गर्ने सञ्चार माध्यममा दुरा भाषामै समाचार पढ्ने र त्यसका लागि निवेदन दिन आग्रह गरेका हुन् ।

राज्यले अहिले २५ भाषामा रेडियो नेपालमा समाचार पढ्ने र ४५ भाषामा गोरखापत्रमा समाचार प्रकाशन हुने हुँदा २६औं र ४६औं भाषामा दुरा भाषा बनाउनका लागि तत्कालै निवेदन दिन अनुरोध गरे । दुरा जाति लोपोन्मुख अवस्थामा पुग्दा भाषा र लिपिको विकास गर्दा यसले अस्तित्व जोगिने सुनाए ।

पछिल्लो समय राजावादीको सक्रियता बढेको सुनाउँदै उनले अल्पसंख्यक जातिका लागि नै संघीयता आएको सुनाउँदै रावाजादीतर्फ नलाग्न समेत अनुरोध गरे ।

‘अल्प संख्यक जातिको संस्कृति जोगाउने संघीयताले नै हो राजावादीले होइन त्यसैले राजाको पछि नलाग्नुहोला’ उनले भने ।

ठाडो भाखाका सर्जक लमजुङ हाँडीखोला बर्धानका देउबहादुर दुराले पुर्‍याएको योगदानको कदर गर्दै नेपाल सरकारले हुलाक टिकटमा राख्ने टिकटमा राज्यलाई योगदान दिने विशेष व्यक्तिको फोटो उनीहरुको इतिहास हेरेर राखिने सुनाए ।

आफ्नो अधिकारका लागि खोजेर मात्र नहुने र लोपोन्मुख अवस्थामा रहेको जातिको उत्थानका लागि स्वयं सचेत भइ आर्थिक तथा सामाजिक सम्मुनतका लागि समेत युवालाई सुरक्षा निकाय, निजामति कर्मचारी बनाउन जोड दिए ।

हिजो पुर्खाहरुले पेन्सन पाउन र व्रिटिस आर्मीमा जानकै लागि गुरुङ लेखाउँदा आफ्नो मौलिक र वास्तविक जाति हटाउन बाध्य भएको विषयमा समेत राज्य गम्भीर भएकाले त्यसतर्फ ध्यान दिँदै अब आफ्नै मुल जाति लेखाउन पाउने गरी व्यवस्था गर्न लागेको सुनाए ।

‘राज्यको पछि लागेर मात्रै हुँदैन हामी पनि अब सक्षम हुन अत्यावश्यक छ, अधिकार खोज्नका लागि अब शिक्षित त हुनुपर्छ नै त्यसका बाबजुत अब हामी लोकसेवादेखि आर्मी पुलिसम्म हुनुपर्छ’, उनले भने, ‘यसले राज्यका हरेक निकायमा हाम्रो सहभागिता जनाउछ र हाम्रो जातिको प्रर्बद्धन गराउन समेत मद्धत गर्छ । अहिले भाषाको विकास भइसकेको छ अब पहिचानका लागि अघि बढौं ।’

समाजका केन्द्रीय उपाध्यक्ष बलबहादुर दुराले दुरा समाज राज्यको तर्फबाट छायाँमा परेको सुनाए । समाजका अध्यक्ष सुरेश कुमार दुराले १५५० देखि दुरा जाति नेपालमा रहेको सुनाए । खजे दुराले राज्य अभिषेक गर्नका लागि कुस्माकर घिमिरेसहित राजा ल्याएको बताए ।

कालुु शाहलाई ल्याएको र लमजुङमा राजा स्थापना गराएका थिए । इतिहास अरुले लेखेर नभइ आफैले उजागर गर्नुपर्ने उनले सुनाए । आफूहरुको इतिहासलाई कसैले बङ्ग्याउन खोजे त्यो सह्य नहुने चेतावनी दिए ।

दुरा जातिको वार्षिकोत्सव समारोह मनाउँदै गर्दा नमनाए हुुँदैन भन्ने कुरा आएको र यो मनाउनै पर्ने उनले बताए । संस्थालाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा समेत गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा दुरा समाज लमजुङ अध्यक्ष बलबहदुु्र दुरा, काठमाडौंको अध्यक्ष किसान दुरा, महिला समाज केन्द्रिय अध्यक्ष नरमाया दुरा, नेकपा एमाले लमजुङ उपाध्यक्ष जितबहादुर गुरुङ, समाजका सल्लाहकार देवबहादुर दुरा, दुरा विद्यार्थी समाज केन्द्रीय सचिव मुना दुरालगायतले आफ्नो धारणा राखेका थिए ।

Copyright © 2024 | All rights reserved.