0
प्रतिक्रिया
पोखरा । केपी ओली कप टी-२० राष्ट्रिय खुला पुरुष क्लब स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजले जितेको छ ।
शुक्रबार पोखरामा भएको फाइनलमा सिइसी काठमाडौंलाई पाँच विकेटले हराउँदै गण्डकीले उपाधि जितेको हो ।
विजेता गण्डकीले १० लाख र उपविजेता काठमाडौंले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।
ठमाडौंँले दिएको एक सय ८३ रनको विजयी लक्ष्य गण्डकीले १७दशमलव३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
गण्डकीका लागि वसन्त कार्की २७ र नारायण जोशी १३ रनमा नटआउट रहे । यस्तै किरण ठगुनाले ५२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले २६ बलमा तीन चौका र चार छक्का प्रहार गरे ।
साथै सुजन थपलिया ३५, दीपक डुम्रे २६, ओपनर साकिव हुकले २४ रन बनाउँदा अर्जुन कुमाल शून्यमै पेभिलियन फर्किए ।
काठमाडौंका लागि दिपेन्द्र रावतले तीन, मनोज यादव र सूर्य तामाङले समान एक-एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौंले १९दशमलव४ ओभरमा एक सय ८२ रन बनाउँदै अलआउट भयो ।
काठमाडौंका लागि अर्जुन घर्तीले ३४ बलमा चार चौका र छ छक्का ६८ रनको उत्कृष्ट पारी खेले ।
यस्तै पृथु बास्कोटाले २९ बलमा सात चौका र दुई छक्काको मद्दतमा अर्धशतकीय पारी खेले । शिवम् तिवारीले २३ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । जसमा रित गौतम चार, दीपेन्द्र रावत चार, सुशान्त सिंह थापा छ, राजेन्द्र बम एक, दिनेश बोहोरा आठ, सूर्य तामाङ तीन र युनिश विक्रम सिंह ठकुरी एक रनमै आउट भए ।
गण्डकीका लागि अमृत गुरुङ र कृष्ण पौडेलले समान तीन-तीन, विपिन खत्री र मिलन बोहोराले दुई-दुई विकेट लिए । गण्डकी हिरोजका किरण ठगुना प्लेयर अफ दी म्याच घोषित भए ।
काठमाडौंका दीपेन्द्र रावत प्लेयर अफ दी टुर्नामेन्ट घोषित हुँदै ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
उत्कृष्ट ब्याटर अत्तरियाका विपिन रावल र उत्कृष्ट बलर लुम्बिनीका अजयकुमार चौहान घोषित हुँदै समान २०-२० हजार रुपैयाँ प्राप्त गरे ।
विजयी टिम तथा खेलाडीलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पुरस्कार प्रदान गरे । खेलकुदको विकासका लागि आफूले आवश्यक पहल गर्ने उनले बताए ।
Copyright © 2024 | All rights reserved.