0
प्रतिक्रिया
पोखरा । गण्डकी प्रदेशकी सांसद विन्दु पौडेलले पोखरामा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञले नेपालको धार्मिक क्षेत्रमा छुट्टै इतिहास रच्ने दावी गरेकी छन् । महायज्ञमा सोमबार सहभागी भएकी सांसद पौडेलले यस्तो दावी गरेकी हुन् ।
धेरैपछि देशमा यस प्रकारको व्यवस्थित कार्यक्रम सञ्चालन भएको भन्दै यसले धेरै महत्व राख्ने स्पष्ट पारिन् ।
उनले भनिन्, “नेपालमा कसैले आटन नसकेको कोटिहोम महायज्ञ हाम्रो पोखरामा सञ्चालन भएको छ, यो अत्यन्तै गर्वको कुरा हो, यसले नेपालको धार्मिक क्षेत्रमा इतिहास बनाउँछ नै, साथै पोखराका गरिमा पनि थप बलियो हुने छ ।”
कोटीहोमको रौनक बढ्दै गएको छ । मानव सेवा फाउण्डेशनले आयोजनामा चैत १७ देखि जारी कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा सञ्चालन हुनेछ ।
कोटीहोम अवधिमा शंकराचार्य, जगदगुरु, साधुसन्त, महन्तसँगै विश्वका विभिन्न मुलुकबाट प्रसिद्ध कथा वाचक र वाचिकाको आगमन र आशिर्वचन हुने कार्यक्रम छ ।
कोटी होममा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा वाचन हुनुको साथै लाखौँको विवाह, ब्रतवन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप, तीन सय भन्दा बढी ब्राह्मण गुरुको दैनिक उपस्थिति, लाखौँ रामनाम पुस्तिका वितरण गरी अरबौं रामनाम लेखिने र एक करोड शिवलिङ्ग स्थापना गरी एक करोड बेलपत्रद्वारा पुजन गरिने जनाइएको छ ।
सो अवसरमा राष्ट्रिय भजन प्रतियोगिता, कवि तथा सन्त सम्मेलन, धार्मिक संघसंस्थाको सम्मेलन, ११ हजार कलश पुजन, २५ हजार नरिवलको भोग, कन्या पूजा, ज्येष्ठ नागरिक सम्मान, गण्डकी प्रदेशका एक हजार बढी स्रष्टा सम्मान, शालिग्राम पुजन, चित्रकला प्रतियोगिता, रक्तदान, तन्दुलाञ्चल र धान्याञ्चल पर्वतको निर्माण, धार्मिक क्षेत्रसँग सम्बन्धित वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रम गरिने भएको छ ।
Copyright © 2024 | All rights reserved.