0
प्रतिक्रिया
पाेखरा । पाेखरा महानगरपालिकाको काँहुडाडा, कृष्ति, भरतपोखरी, निर्मलपोखरी र मट्टीखानलगायत क्षेत्रका बासिन्दालाई स्वच्छ पिउने पानीको उपलब्धताका लागि लागत साझेदारीमा परियोजना सञ्चालन गर्ने गरी त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
पोखरा-२१ र ३३ लाई समेट्ने गरी नेपाल सरकारको केन्द्रीय खानेपानी आयोजना अन्तरगत वृहद भरतपोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजना, मट्टीखान खानेपानी आयोजना पोखरा-२१ र जलवायु अनुकूलित आयोजना अन्तरगत काँहुधरहरा खानेपानी आयोजना पोखरा-११ को निर्माण, सञ्चालन र कार्यान्वयन सम्बन्धमा त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
नगर प्रमुख धनराज आचार्य र सिनियर डीभिजनल इन्जिनियर कुल प्रसाद पौडेल लगायतको रोहबरमा गरिएको समझदारी पत्रमा नेपाल सरकारको तर्फबाट संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराका का.मु आयोजना प्रमुख पदमबहादुर कुँवर क्षेत्री, पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई र खानेपानी उपभोक्ता समितिका तीनै जना अध्यक्षले हस्ताक्षर गरे ।
बृहत भरत पोखरी, निर्मलपोखरी, कृस्ती खानेपानी आयोजना निर्माणका लागि ५१ करोड ७७ लाख ७६ हजार दुइ सय दुइ रुपैयाँ कुल लागत मध्ये पहिलो चरणमा अर्थ मन्त्रालयबाट २८ करोड ४९ लाख ९१ हजार ८ सय २८ स्रोत सुनिश्चित भई कार्यान्वयनको चरणमा छ ।
यस्तै काँहुधरहरा खानेपानी आयोजनाका लागि कुल ४९ करोड १७ लाख १७ हजार ६०३ रुपैयाँ मध्ये २१ करोड ६ लाख २४ हजार १४० रुपैयाँ र मट्टीखान खानेपानी आयोजनाको कुल २८ करोड ५४ लाख ६५ हजार १७३ रुपैयाँ मध्ये १९ करोड ७६ लाख ४१ ८७६ रुपैयाँको अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको छ ।
समझदारी अनुसार स्रोत सुनिश्चित भई कार्यान्वयनमा गइसकेपछि चालु आ.वमा पोखरा महानगरपालिकाले त्यसको १० प्रतिशत रकम बेहोर्ने छ ।
तीन वटै परियोजनाको कुल लागत १ अरब २९ करोड ४९ लाख ५८ हजार ९७८ रुपैयाँ लाग्ने अनुमान गरिएको छ । परियोजनाको कुल लागतको ९० प्रतिशत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले बेहोर्ने छ ।
चालु आर्थिक वर्षबाटै योजना सञ्चालन गर्ने गरी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले २०८१ फाल्गुन ८ गते सार्वजनिक टेन्डर समेत आह्वान गरिसकेको छ ।
आयोजनाको पोखरा कार्यालय प्रमुख कार्यान्वयन इकाई रहेको यी आयोजना सम्पन्न भएपछि ५ हजार घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । आयोजना कार्यान्वयन भएको मितिले ३० महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यी आयोजनाहरू एक घर एक धाराको अवधारणामा सञ्चालन हुनेछन् ।
पोखरा महानगर प्रमुख आचार्यले नगरवासीलाई आधारभूत खानेपानीको उपलब्धताका लागि आफू क्रियाशील रहेको बताए।
“पोखरा महानगरपालिकाको भूगोल विविधतायुक्त छ, यहाँ समथर मैदानदेखि अग्ला पहाडी भेगहरू छन्, सबै स्थानमा खानेपानीको सहज उपलब्धता हुननसकिहरेका बेला पछिल्लो पटक निकै ठूलो मिहिनेतका साथ हामी यी आयोजनाहरू सञ्चालन गर्ने क्रममा आइपुगेका छौँ, उनले भने, ठूला लगानीका आयोजनामा जनसहभागिता जुटाउन निकै कठिन छ, तसर्थ नागरिकको संवैधानिक अधिकारको प्रत्याभूतिका लागि पनि यसको दायित्व महानगरपालिकाले लिनुपर्दछ भन्ने मान्यताका साथ हामीले प्रतिबद्धता सहित अग्रसरता लिएका छौँ ।”
पानीको महसुल बुझाउन समेत मुस्किल पर्ने उपभोक्तालाई जनसहभागिता बापतको रकम महानगरपालिकाले तिरिदिने भएपछि उपभोक्तामा उत्साह थपिएको समितिका अध्यक्षहरूले प्रतिक्रिया दिएका छन् ।
Copyright © 2024 | All rights reserved.