0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं २८ र कृषि सञ्जालको आयोजनामा कृषि गीत प्रतियोगिता, बाली उपचार शिविर तथा रैथानी बाली प्रदर्शनी सम्पन्न भएको छ ।
कृषि गीत प्रतियोगितामा मातृशिशु कृषि समूह प्रथम हुँदै २० हजार रुपैयाँ नगद पुरस्कार जितेको छ ।
यसैगरी काफल घारी पिपलडाली कृषक समूह द्वितीय हुँदै १५, विमीरापानी कृषक समूह तृतीय हुँदै १० र स्याङ्खुदी कृषक समूह सान्त्वना हुँदै पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।
यस्तै प्रतियोगितामा १५ समूहको सहभागिता रहेको थियो । जसमा भेषभुषातर्फ कालिका महिला कृषक समूह उत्कृष्ट हुँदै पाँच हजार रुपैयाँ नगद पुरस्कार जितेको छ ।
विजयी टोली तथा प्रतियोगीलाई पोखरा महानगर प्रमुख धनराज आचार्य, वडाध्यक्ष श्रीकृष्ण लामिछानेलगायतले पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रम स्थलमा बाली उपचार शिविरसंचालन गरिएको थियो । शिविरमा वडाका कृषकले नगदेवालीमा भएका समस्या बारेमा प्राविधिकसँग परामर्श गरेका थिए भने रोगको पहिचान गरी उपचारका लागि औषधि वितरण गरिएको थियो ।
साथै वडामा उत्पादन हुने रैथानी बाली धान, मकै, जौँलगायतका बीउबिजन प्रदर्शन गरिएको थियो ।
सो अवसरमा मेयर आचार्यले महानगरले कृषि र पशुपालनमा दीर्घकालीन योजना बनाएर अघि बढेको बताए । उनले पछिल्लो समय महानगरमा नगदे बालीको उत्पादन बढेको र आयत प्रतिस्थापन हँुदै गएको बताए ।
महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले २८ नं वडामा कृषिको विविधता रहेको बताए । उनले वडामा धान, मकै, गहुँ, मरिच, मह, खसीबोका, दूध र तरकारी खेती हुने गरेको बताए ।
कृषि ज्ञान केन्द्र, कास्कीका प्रमुख किरण सिग्देलले यहाँका जेठेबुढोलगायतका धानका बीउलाई जोगाएर राख्नुपर्ने बताए । उनले देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
वडाध्यक्ष श्रीकृष्ण लामिछानेले ग्रामिण वडा भएकाले कृषि उत्पादन बढाउनका लागि वार्षिक कार्यक्रम संचालन गरिएको जानकारी दिए ।
किसानलाई प्रोत्साहन गर्न अनुदानका कार्यक्रम महानगर र वडामार्फत किसानको घरसम्म पुर्याइएको उनको भनाइ थियो ।
कृषि संजाल पोखरा-२८ का अध्यक्ष राधाकृष्ण तिवारीले वडामा २० वटा कृषक समूह रहेको जानकारी दिए ।
सञ्जालमार्फत किसानका आवाजलाई उठाउने र सरकारका नीति तथा कार्यक्रममा समूहलाई जोड्ने प्रयास गरिएको उनले बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णबहादुर केसी, प्याब्सन उपाध्यक्ष वीरबहादुर बुढाथोकी, लेखनाथ उद्योग वाणिज्य संघ महासचिव जानुका पराजुली, वडासदस्य डाल्डादेवी भुजेल र वीरेन्द्र भण्डारी, नेकपा एमाले वडा नं २८ उपाध्यक्ष लक्ष्मी पौडेल, सानाकिसान कृषि सहकारी माझठानाका उपाध्यक्ष सीताराम तिवारीलगायतले बोलेका थिए ।
Copyright © 2024 | All rights reserved.