जेठ ११, २०८२, शनिबार

नारायणगढ-वुटवल सडक विस्तारलाई तीव्रता दिन होटल संघकाे माग


Advertisement Image
clock icon 3 weeks, 6 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । होटल संघ नेपाल (हान) गण्डकीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्डको स्तरोन्नति कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेको छ ।

हान गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले हालै एक विज्ञप्ति जारी गरी सडक मार्गको विस्तार र स्तरोन्नतिमा भएको ढिलाईले पर्यटक र समग्र यात्रुवर्गले हैरानी खेप्नु परेको उल्लेख गरेका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस खण्डमा निकै अघि काम सुरु भए पनि स्तरोन्नति कार्यमा देखिएको सुस्तीका कारण पर्यटक र समग्र पर्यटन क्षेत्रले निकै हैरानी खेप्दै आउनु परेको छ, सामान्य यात्रुले पनि यस्तो समस्या दिनहुँ भोग्न बाध्ये छन्, सडक विस्तार कार्यमा भएको ढिलाई, निर्माणको क्रममा मौसमअनुसार उत्पन्न धुलो र हिलो तथा सडकको उबडखाबडले गर्दा यसखण्ड हुँदै गुड्ने सवारी र तिनमा यात्रारत सेवाग्राहीले ठूलो कष्ट उठाउनु परेको छ, अर्कोतर्फ दुर्घटनाको जोखिम त छँदै छ ।’

पर्यटन क्षेत्र अगाडि बढ्न चाहिने केही महत्वपूर्ण आधारमध्ये कनेक्टिभिटी अर्थात् पहुँचले ठूलो महत्व राख्ने भन्दै संघले नेपालमा सडक मार्गको निर्माण, विस्तार र स्तरोन्नतीमा निकै ढिलाई हुने गर्दा समग्र आर्थिक र पर्यटन क्षेत्र नकारात्मक रुपमा प्रभावित हुने गरेको जनाएको छ । 

गैंडाकोटदेखि दाउन्ने पहिलो खण्ड ६५ किमि र दाउन्ने-बुटवल दोस्रो खण्ड ४९ किमि विस्तारका लागि चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले चैत २०७५ मा १६ अर्ब ९९ करोडमा रुपैयाँमा ठेक्का लिएको थियो ।

सम्झौताअनुसार साउन ०७९ भित्र काम सकिनुपथ्र्यो तर तेस्रो पटक थपिएको म्याद सकिन तीन महिना मात्र बाँकी रहँदा प्रगति ६३ प्रतिशत मात्र हुनु दुःखद् भएको संघले उल्लेख गरेको छ ।

यतिमात्र नभई यो खण्डको अनुगमनका क्रममा केही दिन अघि स्वयं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत दाउन्नेको जाममा रोकिनुपर्ने अवस्था सिर्जना हुन पुगेको र एस्कर्टिङलाई पनि दाउन्ने खण्ड छिचोल्न चार घण्टा लागेको खबर सार्वजनिक भएका थिए । 

यसैगरी विदेशी पर्यटकले यो सडकको अवस्थाबारे सामाजिक संजालमा श्रव्यदृष्य सामग्री पोष्ट गर्दा अन्तर्राष्ट्रिय जगतमा नेपालप्रति नकारात्मक धारणा सिर्जना हुने जोखिम बढेर गएको भन्दै हानले चिन्ता व्यक्त गरेको छ ।

विज्ञप्तिमा थप भनिएको छ, ‘अहिले सहज अवस्थामा त सडक विस्तार र स्तारोन्नती कार्यमा ढिला भएको छ भने बर्खाको समयमा हालत के होला, प्रश्न स्वभाविक छ, अतः सडकको विस्तार कार्यलाई तिव्रता दिन ठेकेदार कम्पनीलाई खबरदारी गर्दै स्तरोन्नति कार्य नसकिंदासम्म विकल्पको खोजी गरी पर्यटक र समग्र सेवाग्राहीलाई सहज यात्राको वातावरण सिर्जना गर्न होटल संघ नेपाल गण्डकी सरकारसँग जोडदार माग गर्दछ ।’

Copyright © 2024 | All rights reserved.