0
प्रतिक्रिया
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको तथ्य बाहिर आएको भन्दै तत्काल छानविन गरेर कार्वाही गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बैठकमा बोल्दै सांसद पराजुलीले यस्तो माग गरेका हुन् ।
उनले पोखरा विमानस्थलमा १० अर्ब रुपैयाँ बढी भ्रष्टाचार भएको तथ्य बाहिर आएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्नुपर्नेमा जोड दिए । उनले सरकारसँग प्रश्न गरे, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा घोटला गर्नेमाथि कार्वाही गने हिम्मत छ कि छैन ?’
२२ अर्ब ऋण सम्झौता लागतमा निर्माण भएको विमानस्थलमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको विषय संसद्को लेखा समितिको उपसमितिले उजागर गरेको तथ्य बाहिर आएको सासद थापाले उल्लेख गरे ।
विमानस्थललाई आवश्यक लम्बाइको धावन मार्ग बन्ने नसके पनि धावन मार्गभन्दा कैयौं गुणा लामो भ्रष्टाचारको लिस्ट बनेको भन्दै उनले यो विषयलाई अन्तर्राष्ट्रिय सञ्चार जगतले बारम्बार उजागर गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसद पराजुलीले भने, ‘यो प्रकरण उजागर गर्नुमा उसका आफ्ना इन्ट्रेस्ट होलान््, यद्यपि नेपालमा हुने भ्रष्टाचारको काण्ड अन्तर्राष्ट्रिय जगतमै दुर्गन्धित भएको कुरा त उजागर गरेको सत्य हो नि ? प्रधानमन्त्रीज्यू ।’
प्रधानमन्त्रीले भ्रष्टाचार गर्न नदिने बाचा गर्दै आएको स्मरण गर्दै भने, ‘अब नाकैमुनि भएको भ्रष्टाचारको गन्धले संसार दुर्गन्धित हुँदा पनि भ्रष्टाचार आफू पनि गर्दिन र गर्न पनि दिन्न भन्दै कार्यकर्ताको आँखामा छारो हालिरहने कि ?’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न थपे, ‘उच्च स्तरीय सशक्त न्यायिक छानबिन समिति गठन गरेर यो परियोजनामा भएको सबै भ्रष्टाचार र अनियमितताको छानबिन, भ्रष्टाचारसँग जोडिएका ती सबैलाई कानूनको कठघरामा उभ्याउने र विमानस्थल सुचारु गराउने प्रतिबद्धता जाहेर गर्ने हिम्मत छ नि प्रधानमन्त्रीज्यू ?’
विमानस्थलमा कम्तीमा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको भनेर संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले प्रतिवेदन तयार पारेको छ ।
तर प्रतिवेदनमा एकातिर विमानस्थलको निर्माण, ठेक्का प्रक्रिया र लागत बढाउँदा नीतिगत निर्णय गर्ने उच्चस्तरीय पदाधिकारी कसैको पनि नाम र जिम्मेवारी किटान गरिएको छैन । अर्कोतिर उपसमितिमा सरकारको नेतृत्व गरिरहेको दल एमालेका सांसदले हस्ताक्षर समेत गरेका छैनन् ।
Copyright © 2024 | All rights reserved.