0
प्रतिक्रिया
पोखरा । पोखरामा हुने प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा यही वैशाख १८ देखि २२ गतेसम्म पोखरा रङ्गशालास्थित मल्टिपर्पोज हलमा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको तयारी ९० प्रतिशत पूरा भएको डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार पोखरामा पहिलो पटक इन्डोर हलमा अन्तर्राष्ट्रिय स्तरको भलिबल हुन लागेको हो । च्याम्पियनशीपमा छ वटा टीमको सहभागिता रहनेछ ।
प्रतियोगितामा विदेशका टीम इरान र भारतको सहभागिता रहनेछ भने गण्डकी प्रदेश टोली र नेपालका तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लब सहभागी हुने बताइएको छ ।
इरानी भलिबल टोलीका केही सदस्य पोखरा आइसकेको गभर्नर अर्यालले जानकारी दिए । प्रतियोगिताको विजेताले चार लाख ४४ हजार चार सय ४४ रुपैयाँ, उपविजेताले दुई लाख ४४ हजार चार सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका क्याबिनेट सचिव शिवराज आचार्यले जानकारी दिए ।
यस्तै, प्रतियोगितामा तेस्रो हुने टिमले एक लाख ४४ हजार चार सय ४४ रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने उनले बताए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद १४ हजार चार सय ४४ तथा अन्य विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही आठ हजार चार सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।
प्रतियोगिता अनुमानित बजेट ८० लाख रहेको र प्रायोजक र टिकट विक्रीबाट उक्त रकम उठाइने आयोजकले जनाएको छ ।
लायन्स क्लबको स्थापना अन्तर्राष्ट्रियस्तरमा एक सय सात वर्ष र नेपालमा ५३ वर्ष पूरा भएको परिप्रेक्ष्यमा नेपालको राष्ट्रिय खेल भलिबलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको डिष्ट्रिक्ट गभर्नर अर्यालले जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.