0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर परिसरमा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ धार्मिक र सांस्कृतिक उत्सवको प्रमुख केन्द्र बनेको छ ।
वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण भएपछि चैत्र २९ गतेदेखि अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको शुरुवातसँगै महायज्ञमा दैनिक रुपमा कथा वाचन शुरु भएको हो ।
महायज्ञमा हाल अन्तराष्ट्रिय कथा वाचिक देवी प्रतिभाले कथा वाचन गरेकी छन् । देवी प्रतिभाले वैशाख १८ गतेसम्म कथा वाचन गर्ने कार्यक्रम रहेको महायज्ञ मुल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।
लामिछानेका अनुसार आगामी दिनमा दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायत राष्ट्रिय वक्ताको सहभागिता रहनेछ।
महायज्ञमा सोमबार देवी प्रतिभाले कथा वाचन गर्ने क्रममा भगवान कृष्णको जन्मउत्सव मनाई सम्पूर्णलाई फूल मिठाई मार्फ मनोरञ्जन दिलाइएको थियो । भगवान कृष्णको कथा वाचनका क्रममा १०औँ दिन यसरिनै भगवान कृष्णको जन्माेत्सव मनाइने गरिएको छ । महायज्ञमा देवी प्रतिभाको सोमबार कथा वाचनको १०औं दिन चलेको थियाे ।
महायज्ञमा साधु-सन्त, भक्तजन, स्वयंसेवक, महिला समूह, बालबालिका र जनप्रतिनिधिको सक्रिय सहभागिताले महायज्ञ पोखरेली समाजको साझा उत्सवको रूपमा स्थापित भएको छ।
गण्डकी कोटिहोम महायज्ञले धार्मिक पर्यटन प्रवर्द्धनमा दीर्घकालीन योगदान पुर्याउने अपेक्षा गरिएको छ। स्थानीय समुदायको उत्साहपूर्ण सहभागिता, सांस्कृतिक कार्यक्रम र आध्यात्मिक प्रवचनले महायज्ञलाई पोखराको धार्मिक र सांस्कृतिक पहिचानको महत्वपूर्ण हिस्सा बनाएको आयोजकको दावी छ ।
आयोजकले यसलाई सामाजिक एकता, सांस्कृतिक जागरण र आध्यात्मिक उत्थानको अवसरका रूपमा अघि बढाएका छन्, जसले पोखरालाई धार्मिक गन्तव्यको रूपमा थप स्थापित गर्ने विश्वास गरिएको छ।
मानवसेवा फाउण्डेशनको आयोजनामा वैशाख १७ देखि औपचारिक रुपमा उद्घाटन हुने ऐतिहासिक महायज्ञअन्तर्गतका विभिन्न प्रवचन एवं धार्मिक कार्यक्रम जारी छन् । महायज्ञ जेठ २६ गतेसम्म चल्नेछ ।
महायज्ञ प्रचारप्रसारका लागि वैशाख १६ गते बिहान ७ वजे भव्य शोभा कलश यात्रा आयोजना हुने छ जसका लागि सोमबार साँझ ११ हजार कलश सजाइने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
महायज्ञलाई भव्य रुपमा सम्पन्न गर्नका लागि वैशाख १६ गते ऐतिहासिक विशाल शोभा कलश यात्रा गरिने लागेको कोटिहोम महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीले जानकारी दिए।
शोभा कलश यात्रा पोखराको शान्तिघाटबाट शुरु भई नयाँबजार, पृथ्वीचोक, सिर्जनाचोक, राष्ट्रबैक चोक हुँदै कार्यक्रम स्थलमा पुग्ने छ । कलश यात्रामा गंगाको जलसँगै ११ हजार कलश रहनेछन् ।
शोभा कलश यात्रामा प्रयोग गरिएका कलश महायज्ञ सकिएपछि प्रति कलश एक हजार तीन र दुई वटा कलश दुइ हजार पाँच सयमा घरमा लैजान सकिने व्यवस्था मिलाईएको मानव सेवा फाउण्डेशन नेपालका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
शोभा कलश यात्रामा समूह, भेषभूषा, अनुशासन व्यानरलगायतमा आउने समूहलाई पुरस्कारको व्यवस्थासमेत गरिएको मूल समारोह समिति महासचिव गिरीराज अधिकारीले जानकारी दिए ।
कलश यात्रा कार्यक्रम संयोजक दुर्गा केसीका अनुसार शोभा कलश यात्रामा जिल्ला वाहिरबाट पनि उल्लासमय सहभागिता रहने अपेक्षा गरिएकाे छ ।
कलश यात्रामा जगद्गुरु, साधु, सन्त, महन्त, प्रसिद्ध कथा वाचक, वाचिकाबाट विशेष शास्त्रीय प्रवचन हुने भएको छ ।
महायज्ञको मुख्य दिन वशाख १७ देखि जेठ २६ गतेसम्म सयौं गुरुद्वारा नियमित हवन तथा अनेकौँ पुण्यमय कर्मह गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारबाट भजन, झाँकी, देवलीला, नृत्य लगायत प्रस्तुति हुनेछन् ।
कार्यक्रम अवधिभर देश-विदेशबाट कार्यक्रम विभिन्न सामाजिक अभियन्ता तथा राजनीतिक दलका नेताको आगमन हुने जनाइएको छ ।
यसअघि प्रचारप्रचारका लागि साइकल र्याली, ट्याक्सी र्याली, मोटरसाइकल र्याली र पैदल यात्रा कार्यक्रम भइसकेका छन् ।
कोटीहोम अवधिभर श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा जस्ता दिव्य कथावाचन गरिनेछ । यसका अतिरिक्त, विवाह, ब्रतबन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप प्रज्वलनलगायतका कार्यक्रम राखिएको छ ।
कोटिहोममा ४१ दिनसम्म निरन्तर हवन हुने भएकाले श्रद्धालुलाई घ्यू, तील, तेल, देवदारु, श्रीखण्डलगायतका सामग्री लिएर उपस्थित हुन फाउण्डेशनले अनुरोध गरेको छ ।
आयोजकले सामाजिक सञ्जालमा मानवसेवाफाउण्डेशन र गण्डकीकोटिहोम ह्यासट्याग प्रयोग गरी छोटा भिडियो बनाउने व्यक्तीलाई २५ हजार सम्मको पुरस्कार र सम्मानपत्र प्रदान गर्ने घोषणा गरेका छन्। यो पहलले युवा र समुदायको रचनात्मक सहभागितालाई प्रोत्साहन आयोजकले अपेक्षा गरेको छ ।
राष्ट्र शान्ति, विश्व कल्याण, धार्मिक पर्यटन प्रवर्धन, तथा असहाय बालबालिका र ज्येष्ठ नागरिकहरूको संरक्षणार्थ महायज्ञमा आयोजना गरिएको हो । महायज्ञमा भक्तजन, दानविरदाताको पनि उपस्थित बाक्लिदै गएको छ ।
Copyright © 2024 | All rights reserved.