बैशाख १९, २०८२, शुक्रबार

लायन्स कप भलिबलमा नेपाल पुलिस विजयी


Advertisement Image
clock icon 3 hours, 53 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरामा बिहीबारदेखि सुरु भएको प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताअन्तर्गत पहिलो दिनको दोस्रो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

भारतीय टोलीलाई पराजित गर्दै पुलिसले विजयी यात्रा सुरु गरेको हो । समूह ‘बी’ अन्तर्गतको खेलमा पुलिसले भारतीय टोलीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक पहिलो सेटमा पुलिसले भारतीय टोलीमाथि २५-२३ ले जित हासिल गर्‍यो । दोस्रो सेट र तेस्रो सेट भने पुलिसले सहज जित निकाल्यो । पुलिसले दोस्रो सेट २५-१६ र तेस्रो सेट २५-२० ले जित निकाल्न सफल रह्यो ।

यसअघि बिहीबारै भएको समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा इरानी टोलीले सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३-१ को सेटमा पराजित गरेको थियो ।

प्रतियोगिताको दोस्रो दिन शुक्रबार पहिलो खेल इरानी टोली र गण्डकी प्रदेशबीच बिहान ११ बजे सुरु हुनेछ भने दोस्रो खेल भारतीय टोली र त्रिभुवन आर्मी क्लबबीच दिउँसो १ः०० बजेबाट सुरु हुनेछ ।

प्रतियोगितामा सहभागी छ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा इरानी टोली, एपीएफ र गण्डकी प्रदेश छन् । समूह ‘बी’ मा भारतीय टोली, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब छन् । दुवै समूहबाट शीर्ष दुइमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल वैशाख २२ गते हुनेछ ।

प्रतियोगिताको विजेताले चार लाख ४४ हजार चार सय ४४ रुपैयाँ, उपविजेताले दुई लाख ४४ हजार चार सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका क्याबिनेट सचिव शिवराज आचार्यले जानकारी दिए ।

यस्तै, प्रतियोगितामा तेस्रो हुने टिमले एक लाख ४४ हजार चार सय ४४ रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने उनले बताए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद १४ हजार चार सय ४४ तथा अन्य विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही आठ हजार चार सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।

Copyright © 2024 | All rights reserved.