0
प्रतिक्रिया
पोखरा । प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानी टोलीले सेमिफाइनलमा स्थान बनाएको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको पहिलो खेलमा गण्डकी प्रदेशलाई ३-१ को सेटले पराजित गर्दै इरानी टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
पहिलो सेट १४-२५ ले गुमाएको गण्डकीले दोस्रो सेट पुनरागमन गर्दै २५-१७ को जित निकालेको थियो । तर, तेस्रो र चौथो सेटमा लय गुमाउन पुग्दा गण्डकीले हार व्यहोरेको हो ।
इरानी टोलीले तेस्रो सेट २५-१८ र चौथो सेट २७-२५ ले आफ्नो पक्षमा पारेको थियो ।
इरानी टोलीले यसअघि सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३-१ को सेटले पराजित गरेको थियो । समूह ‘ए’ अन्तर्गत अन्तिम खेल गण्डकी प्रदेश र एबीएफबीच हुनेछ ।
उक्त खेलको विजेताले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ ।
आजको दोस्रो खेल समूह ‘बी’ अन्तर्गत भारतीय टोली र त्रिभुवन आर्मी क्लबबीच हुँदैछ ।
यसअघि भएको खेलमा भारतीय टोली नेपाल पुलिस क्लबसँग ३-० को सोझो सेटमा पराजित भएको थियो ।
प्रतियोगितामा सहभागी छ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा इरानी टोली, एपीएफ र गण्डकी प्रदेश छन् ।
समूह ‘बी’ मा भारतीय टोली, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब छन् । दुवै समूहबाट शीर्ष दुइमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल वैशाख २२ गते हुनेछ ।
प्रतियोगिताको विजेताले चार लाख ४४ हजार चार सय ४४ रुपैयाँ, उपविजेताले दुई लाख ४४ हजार चार सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका क्याबिनेट सचिव शिवराज आचार्यले जानकारी दिए ।
यस्तै, प्रतियोगितामा तेस्रो हुने टिमले एक लाख ४४ हजार चार सय ४४ रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने उनले बताए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद १४ हजार चार सय ४४ तथा अन्य विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही आठ हजार चार सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.