0
प्रतिक्रिया
पोखरा । कास्की आदर्श समाज कतारको भित्तेपात्रो विमोचन तथा नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
कास्की आदर्शको चाहना, सभ्य र समृद्ध समाजको स्थापना भन्ने मुल उद्देश्यका साथ सन २००२मा स्थापित समाजले नयाँ वर्षको अवसर पारेर उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रममा श्री केदारेश्वर महादेवमणि सेवाश्रम समितिका पीठाधीश स्वामी चित्द्घन चैतन्य डा.लेखनाथ आचार्यले दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरे ।
आचार्यले युवालाई विदेशमा पठाउन भन्दा देशमा नै रोजगारीको सृजना गर्न सकेमा नागरिक र देशको विकास सम्भव हुने धारणा राखे।
उनले देशमा नेतृत्व गर्ने नेताले रोजगारीको सृजनाका लागि अहम भूमिका निर्वाह गर्न नीतिगत र व्यवहारिक काम गर्नुपर्नेमा जोड दिँदै आफ्नो परिवार छाडेर विदेशिनु दुःख रहेको उल्लेख गरे ।
“कसैलाई पनि विदेशिनु रहर नभएर बाध्यता बन्न पुगेको छ, गाउँ, शहर खाली हुँदै जानु देशको नै दुर्भाग्य भएको ठान्दछु, युवाको उर्वर समयलाई विदेशी भूमिमा श्रम गरेर पसिना बनाउनु देशका लागि सुखद् नभएको सबैलाई जानकार नै छ, राज्यका नियमन निकायमा रहेकाले सोच्ने र गर्ने बेला आएको छ”, उनले भने ।
आचार्यले आध्यात्म विना व्यक्ति, समाज र राष्ट्र विकास असम्भव भएको बताउँदै आध्यात्मलाई साथमा राखेर अगाडि बढेमा नेपाल र नेपालीको मौलीकता बच्नुका साथै राज्यको समेत विकासमा टेवा पुग्ने उल्लेख गरे।
समाजका अध्यक्ष अगन्धर देवकोटा (अग्नी)ले समाजको गतिविधिका बारेमा जानकारी गराउनुका साथै समाजलाई विभिन्न क्षेत्रबाट सहयोग गरेका सहयोगीलाई कार्यक्रममा मायाको चिनो, सम्मानपत्र, दोसल्ला र खादाले सम्मान गरेका थिए ।
अध्यक्ष देवकोटाले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ नयाँ कार्यक्रमको लागि सल्लाह दिन अनुरोध गरे।
कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद् उपाध्यक्ष सन्तोष तिमिल्सिनाले जन्मथलो कास्की रही विविध कारण कर्मथलोको रुपमा कतारमा रहेका कस्केलीको संस्था कास्की आदर्श समाज कतारले विभिन्न सामाजिक काम गर्दै आएको र अभिलेखको लागि भित्तेपात्रो, स्मारिका, बुलेटिन प्रकाशन गरेको जानकारी गराए ।
उनले चकको माध्यमबाट सूचना प्रवाह गर्दै २३ वर्ष अगाडि स्थापना भएको समाजले विश्वभर करिब २३ वटा अन्तराष्ट्रिय संस्थाको सुरुवातको श्रेय पाएको बताए ।
गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष नन्दलाल वि.क.(अजय)ले गण्डकी प्रदेशअन्तर्गत रहेको कास्की जिल्लाले उल्लेख्य कार्य गर्दै आइरहेको बताए ।
उनले समाज स्थापनाको मूल उद्देश्य मर्मअनुसार काम गर्नुका साथै आकस्मिक गरिने सामाजिक कार्यले समाजको शिर उचो भएको अनुभूति प्राप्त गरेको उल्लेख गरे ।
रुपेश भण्डारीको नेतृत्वमा लाइभ प्रस्तुतिका साथ विभिन्न कलाकारले नृत्य एवं सांस्कृतिक कार्यक्रम गरी मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शिव बानिया, कास्की आदर्श समाज कतारका सल्लाहकार अमिर श्रेष्ठ, उपाध्यक्ष कृष्ण भण्डारी, कास्की आदर्श समाज नेपालका अध्यक्ष विश्वबन्धु थापा, रुकु देवकोटा, माया भण्डारी, नारायणी थापा, गंगाधर पराजुली, रोशन देवकोटालाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो । साथै एफोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसका सञ्चालक पदम श्रेष्ठ र डिजाइनर जीवन श्रेष्ठलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा संरक्षक आशबहादुर गुरुङ, सांस्कृतिक संयोजक चोलेन्द्र पौडेल, संस्थापक अध्यक्ष बलराम सापकोटा, संस्थापक सदस्य खिम बहादुर कार्की, कास्की आदर्श समाज नेपालका अध्यक्ष विश्वबन्धु थापा, अन्नपूर्ण गाउपालिका वडा नं. २ का जनप्रतिनिधि पिताम्बर भण्डारी, नेपाल टेड युनियन कांग्रेस गण्डकी प्रदेश उपाध्यक्ष लालीमाया रेग्मी शर्मालगायतले बाेलेका थिए ।
अगन्धर देवकोटा (अग्नी) को अध्यक्षता भएको कार्यक्रम नारायणी थापा भण्डारीले सञ्चालन, भित्तेपात्रो प्रकाशन समिति सदस्य राजन रानाभाटले स्वागत गरेक थिए । नवीन पौडेलको संयोकत्वमा पत्राे प्रकाशन भएकाे थियो ।
Copyright © 2024 | All rights reserved.