बैशाख २१, २०८२, आइतबार

कोटीहोममा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने


Advertisement Image
clock icon 4 hours, 37 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा वाचन प्रवीण पं. दिनबन्धु पोखरेल आउने भएका छन् ।

कोटीहोममा पोखरेलले वैशाख २८ देखि जेठ ३ गतेसम्म कथा वाचन गर्ने कार्यक्रम तय भएको कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । ढकालका अनुसार पोखरेल आफ्नै झाँकी समूह र सगीत समूहसहित कोटीहोममा सहभागी हुनेछन् ।

१७ दिनदेखि जारी कोटीहोममा एक सय कुण्डमा हवन, भजन चुट्का प्रतियोगिता, चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजीलगायत साधु सन्तमार्फत रामायण प्रवचन र वाचिका सुप्रियामार्फत दैनिक कथा वाचन भइरहेको छ ।

यसअघि अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचन, १४ दिनसम्म अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले श्रीमद्भागवत कथा वाचन गरेर पोखरेलीको मन जितेकी थिइन् ।

उनलाई जेठ १० देखि १६ गतेसम्मका लागि पुनः पोखरा ल्याउने प्रयास भइरहेको संकल्पकर्ता विजय कृष्णमूर्तिले जानकारी दिए । देवी हाल भारतको झारखण्डमा छन् ।

आइतबार पनि बिहान ८ः०५ बजे हवन कुण्डमा हवन गरिएको छ । एक सय वटा हवन कुण्डमा तीन, तीन जना ब्राह्मणले भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका थिए । साथै एक सय आठ भागवत महापुराण पाठ परायण, चार वेद पाठ परायण, सप्तचण्डी, अति रुद्री, मन्त्र जपलगायतमा ब्राह्मणले पाठ गरे ।

शनिबारदेखि खुला भजन चुट्का प्रतियोगिता जारी छ । प्रतियोगितामा देशभरबाट करिब तीन सय जनाले प्रतिस्पर्धा गरिरहेको संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई दुई लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई एक लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्काको व्यवस्था छ ।

वैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ । कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा सञ्चालन हुनेछ ।

Copyright © 2024 | All rights reserved.