0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं ८ को आयोजना तथा नीति एकेडेमी पोखरा-९ को सहकार्यमा वेव डिजाइन एवं डेभलपमेन्ट तालिम आइतबारदेखि सुरु भएको छ ।
१५ दिनसम्म सञ्चालन हुने तालिममा १५ जना सहभागी छन् । उनीहरुलाई नीति एकेडेमीका प्रमुख प्रशिक्षक डम्मर खडायतले तालिम प्रदान गर्नेछन् ।
एआई टुल्समार्फत कार्यक्रम शुभारम्भ गर्दै पोखरा-७ का वडाध्यक्ष राममोहन आचार्यले वर्तमान समयलाई ध्यानमा राखेर आयोजित तालिम निकै उपयोगी हुने विश्वास व्यक्त गरे ।
उनले वेव डिजाइन तालिमले युवालाई आत्मनिर्भर बनाउने र रोजगारीको नयाँ ढोका खोल्ने, व्यवसायीलाई आफ्नो व्यापार प्रवर्द्धन गर्न सघाउने विश्वास व्यक्त गरे ।
उनले आफैलाई उदाहरण दिँदै भने, ‘मसँग आइफोन छ तर सामान्य कामबाहेक मैले अरु चलाउनै जानेको छैन, अब यससम्बन्धमा हामी जानकार हुन आवश्यक छ ।’
कार्यक्रमका अध्यक्षसमेत रहेका पोखरा-८ का वडाध्यक्ष रुद्रनाथ बरालले वर्तमान समयलाई ध्यानमा राखेर तालिम आयोजना गरिएको बताए ।
उनले भने, “हामी अब डिजिटल युगमा छौँ, जहाँ सिप नै शक्ति हो, तालिममा सहभागी भएकाहरुले सिकेका सीपहरु भोलिका उद्यमी, डिजाइनर र विकासकर्ताको जग बन्नेछन् ।”
डिजिटल प्रविधिको विकाससँगै प्राविधिक सीपमा दक्ष बनाउन पनि तालिम महत्वपूर्ण हुने वडाध्यक्ष बरालको विश्वास छ ।
नीति एकेडेमीका अध्यक्ष माधव पोखरेलले वर्तमान समयमा वेव डिजमाइन तालिम जो कसैलाई आवश्यक पर्ने भएकाले आफूहरुले वडासँग मिलेर तालिम आयोजना गरेको बताए ।
तालिमका लागि तालिम आयोजना नगरिएको भन्दै उनले तालिमले विद्यार्थीलाई धेरै कुरा सिकाउने र व्यवसायिकतातर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे ।
वडाध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा-८ का वडासदस्य गोविन्द बराल, वडासचिव झंकनाथ पौडेल, नीति एकेडेमीका प्रमुख प्रशिक्षक डम्मर खडायत, पत्रकार हरि पन्तलगायतले बोलेका थिए ।
नीति एकेडेमीले ग्राफिक डिजाइन, वेव डिजाइनिङ, डिजिटल मार्केटिङ, वेसिक तथा डिप्लोमा कम्प्युटर ट्रेनिङ, सफ्टवेयर डेभलपमेन्ट र आरजे एवं भीजे ट्रेनिङ गर्दै आएको छ ।
हालसम्म नीति एकेडेमीले करिब पाँच सय विद्यार्थीलाई शिक्षा प्रदान गरी रोजगार दिन सफल भएको छ ।
Copyright © 2024 | All rights reserved.