0
प्रतिक्रिया
पोखरा । पोखरामा रहेर दुई दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार विजय नेपाललाई ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ अन्तर्गत ‘उत्कृष्ट खेल पत्रकारिता अवार्ड’ प्रदान गरिने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको बैठकले प्रतिभा छनोट समितिको सिफारिस अनुमोदन गर्दै पत्रकार नेपाललाई अवार्ड प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि ३५ हजार रुपैयाँ नगदसहित अवार्ड र सम्मानपत्र छ ।
प्रतिभा छनोट समितिको संयोजकमा मञ्चका पूर्वअध्यक्ष केशव पाठक, सदस्यमा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, कास्की अध्यक्ष माधव बराल, पूर्व सम्मानित रोहितराज पराजुली एवं प्रदेश सदस्य मञ्चका अध्यक्ष एमबि आस्था मगर र महासचिव परशुराम शर्मा थिए ।
मञ्चले यही वैशाख २६ गते आयोजना गर्ने नवौं पोखरा स्पोर्टस् अवार्ड समारोहमा नेपाललाई पुरस्कार प्रदान गर्नेछ । सो अवसरमा वर्ष खेलाडीसहित विभिन्न सात विधामा अवार्ड प्रदान गरिने मञ्चका महासचिव शर्माले जानकारी दिए ।
मञ्चकै पूर्व महासचिव रहेका पत्रकार नेपाल हाल राजधानी दैनिक, आदर्श समाज दैनिक र हिमाल प्रेसमा कार्यरत छन् ।
पाल्पाको रिब्दीकोट-७ मैनादीमा जन्मिएका उनी बाबु शालिकराम नेपाल र आमा सीतादेवी नेपालका दुई छोरामा जेठा हुन् । उनले अंग्रेजी साहित्यमा एमए र एलएलबी गरेका छन् ।
उनले दर्जनभन्दा बढी पुरस्कार एवं सम्मान पाएका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा राष्ट्रिय खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार–२०७९ प्राप्त गरिसकेका उनलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७५, ‘विन्ध्यवासिनी गीतसंगीत पत्रकारिता पुरस्कार-२०७४’, ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता-२०८०’ लगायतबाट पुरस्कृत गरिएको थियो ।
२०६२ सालतिर सञ्चार दर्पण साप्ताहिकबाट नियमित लेख्न थालेका उनले यस अवधिमा धेरै मिडियामा काम गरे ।
माइक्रोन्यूजमा विद्यार्थी पत्रकार हुँदै मिडियामा प्रवेश गरेका उनले यसअघि पोखरा हटलाइन, रेडियो वाराही, गोर्खा एफएम, स्टार एफएम, नमस्ते एफएम, पश्चिमाञ्चल एफएम, राइजिङ पोखरा, लुम्बिनी दैनिक, यो साता साप्ताहिक, प्राप्ति पत्रिका, रासस, समाधान दैनिक, लोकान्तर, सफलआवाजमा कार्यरत रहेको अनुभव छ ।
उत्कृट खेल पत्रकारिता अवार्ड यसअघि सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक, दीपक परियार, सागरराज तिमिल्सिना र रोहितराज पराजुलीलाई दिइएको थियो ।
Copyright © 2024 | All rights reserved.