बैशाख २२, २०८२, सोमबार

मूलधारमा मिसिन नसकेका भूमिपुत्रहरू


Advertisement Image
clock icon 7 hours, 52 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

विश्व सिग्देल

-पहाडी मुसलमानहरु नेपाली मौलिक मूल्य र संस्कृतिका हिस्सा हुन् । यिनीहरु त्यतिनै यो देशका भूमिपुत्र हुन् जति यहाँका रैथाने भनिनेहरू । यिनीहरुको ईस्लामप्रति त्यतिनै ईमान छ, जति नेपालको संस्कृति र संस्कारप्रतिको निष्ठा र परिपालन । मेरै गाउँमा दसैंमा चौराली, लठ्ठे, जाँते पिङहरू मुसलमान युवाहरु घटस्थापना सुरु नहुंँदै राखिसकेका हुन्थे । त्यही पुगेर हामी आलोपालो गरेर खेल्थ्यौँ । 

मुसलमानहरु सात दिनको पैदलयात्रा तय गरेर नौतुना र गोरखपुरसम्म पुगी हिन्दू महिलाका सौभाग्य र शृंगारका सर्जामहरू चुरा, पोते, सिन्दुर, क्रिम पाउडर, केटाकेटीका खेलौना किनेर ल्याउंथे र मुस्लिम आमाहरु डोकोमा सामान राखेर दुर्गम गाउँसम्म घरघरमा पुर्याउंथे । पुरुषहरु परम्परागत कृषिमा  हिन्दूहरूसंगै दाइँ, रोपाइँ, भारापर्ममा लाग्थे । औंसी, पूर्णिमा हल बारिने हुँदा उनीहरु पनि बार्थे र फुर्सदको समय खोलामा माछा मार्न जान्थे । मैले जानेसम्म हलगोरु र लैना बकेर्ना भैंसी नभएका कुनै मुसलमान घर थिएनन् ।

हामी दुबै समुदाय सँगसँगै हुर्कियौं, सँगै पढ्यौं, पाठ बुझाउन नसकेर सँगै कान समातेर उठबस् गर्यौं, कुखुरा बन्यौं, स्कुलबाट भागेर नांगै विजयपुर खोलाका रहमा पौडी खेल्यौं, कांचा कटमिरा आँप, बेलाउती, खनिया चोरेर खायौं । हामीलाई हाम्रा बा आमाले हिन्दू मुसलमान सिकाएनन, भाईचारा र आत्मीयता सिकाए । अझै ती संगतिहरु भेट हुँदा उत्तिकै स्नेहसँग मिल्छौं, बितेका संगतिलाई सम्झेर भावुक हुन्छौं, बाल्यपनका बद्मासी सम्झेर तिघ्रा ठटाएर हाँस्छौं ।

साँझ भात खाएपछि मुसलमान हिन्दू बुढाहरू गफ गर्न एउटैको पटाहमा आलोपालो जम्मा हुन्थे । एउटै हुक्का र नलीबाट तमाखु गुडगुडाउँथे । रामायण र महाभारतका सिलोकहरू सँगै भाखा मिलाइहाल्थे । हाम्रा त मुखियासमेत मुसलमान थिए । हरेक दशैंमा पाकेका केराका घरी, दहीको ठेकी  कोशेली लिएर मुख्यौली मान मनितो गर्न पुग्नुपथ्र्यो । मुखियाले बाहुनको बर्मस्व खानु हुन्न भनेर दुईचार पैसा बाहुनलाई त दक्षिणा पनि दिन्थे ।

अहिले भूराजनीति र हाम्रो विकृत राजनीतिको बाछिटाले यो नङ मासुको सम्बन्धमा थोरै संसय र असुरक्षाको भावना पहाडी मुसलमानको सुप्तचेतनमा मडारिएको अनुभव गर्दैछु । राष्ट्रको एकीकरणमा कुममा कुम जुधाएर लडेका, हतियार बोकेका यो समुदायभित्र आत्मविश्वास भर्नु, हाम्रो साझा देश हो, यो देश निर्माण गर्न मेरो पनि उत्तिकै योगदान छ भन्ने आत्मविश्वास र आत्मगौरव प्रदान गराउनु बहुंसंख्यक हिन्दू र बौद्धहरूको दायित्व हो,  कर्तव्य हो । उनीहरुको हृदयमा असुरक्षा र अविश्वास संसय हटाऔं । पुनः पछाडि फर्केर हिजोका गौरवमय परम्परालाई पुख्ता बनाऔं । उनीहरुमा कहींकतै क्लेश, शंका उपशंका भए मेटाऔं, पहल गर्ने दायित्व हामीहरूको हो ।

Copyright © 2024 | All rights reserved.