बैशाख २३, २०८२, मंगलबार

हवाई उड्डयनमा वन्यजन्तुजन्य जोखिम व्यवस्थापन समूहको बैठक पाेखरामा


Advertisement Image
clock icon 6 hours, 2 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू पर्यटन राजधानी पोखरामा भेला भएका छन् ।

उनीहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको हवाई उड्डयनमा वन्यजन्तुजन्य जोखिम व्यवस्थापन समूहको सातौँ बैठकमा सहभागी हुन पोखरामा भेला भएका हुन् । समूहको बैठक वैशाख २७ गतेसम्म पोखरामा बस्ने छ ।

कार्यशालासहितको बैठकमा एसिया प्यासिफिकमा हवाई उड्डयनको क्षेत्रले भोगिरहेको वन्यजन्तुजन्य जोखिमको अवस्था, त्यसको न्यूनीकरण तथा समाधान र उड्डयन क्षेत्रलाई सुरक्षित बनाउने उपायको खोजी गरिने विज्ञले बताएका छन् ।

बैठकमा नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुरक्षित हवाई यात्राको सुनिश्चितताका लागि विद्यमान जोखिमको निदानमा जोड दिए ।

नेपाल सरकार यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउने र प्रविधिमैत्री, सुविधायुक्त र सुरक्षित पूर्वाधार निर्माण गर्ने कार्यमा प्रतिबद्ध रहेको बताए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उड्डयन क्षेत्रको संवेदनशीलताप्रति आफूहरू सचेत रहेको बताए ।

“पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पूर्व नजिकै रहेको ल्याण्ड फिल साइड स्थानान्तरण गरी विमानस्थल सञ्चालनमा महानगरपालिकाले सहज वातावरण तयार गर्‍याैँ, ल्याण्ड फिलको स्थानान्तरण सजिलो थिएन तर, आवश्यक थियो, कयौँ अप्ठ्याराको बिचबाट हामीले त्यसको व्यवस्थापन गर्‍याैँ’, नगर प्रमुख आचार्यले भने ।

उनले थपे, विमानस्थलको संवेदनशीलता बुझेर हामीले तुरुन्त निर्णय गर्‍याैँ र एक महिनाभित्रै उक्त ल्यान्डफिललाई सुरक्षित दूरीमा सार्‍याैँ, यो संवेदनशीलताले पनि पुष्टि गर्दछ की, हवाई सुरक्षामा स्थानीय सरकारको भूमिका कति महत्त्वपूर्ण हुन्छ ।”

हवाई सेवालाई सुरक्षित बनाउन स्थानीय तहको सक्रियता र नेतृत्व उत्तिकै आवश्यक र प्रभावकारी हुने उनले बताए ।

“राम्रो नीति, बलियो स्थानीय नेतृत्व र क्षेत्रीय सहकार्यबाट मात्रै हामी हाम्रो आकाशलाई अझ सुरक्षित बनाउन सक्छौँ”, नगर प्रमुख आचार्यले भने, ‘हामी एक भूपरिवेष्टित देशका नागरिक हौँ, बद्लिँदो विश्व परिवेशमा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई सम्पर्क नागरिकको मौलिक अधिकारसँग जोडिएको विषय बनिसक्यो, तसर्थ हामी हाम्रो शहरलाई हवाई सेवामार्फत विश्वभर जोड्न चाहन्छौँ ।”

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई एसिया प्यासिफिक क्षेत्रका देशमा जोड्न सकिने सम्भावनाको खोजी गर्न समेत उनले आग्रह गरे ।

सो क्रममा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र आइकाओ एसिया प्यासिफिकका क्षेत्रीय उपनिर्देशक मन्जित सिंहलगायतले हवाई सेवालाई सबैको पहुँचमा पुर्‍याउँदै यसका विद्यमान जोखिमको समाधानमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

बैठकमा एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञसहित सरकारी अधिकारीको सहभागिता छ ।

Copyright © 2024 | All rights reserved.