बैशाख २५, २०८२, बिहीबार

आज विश्व रेडक्रस दिवस मनाइँदै


Advertisement Image
clock icon 11 hours, 42 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । आज विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ । सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष आजकै दिन रेडक्रस दिवस मनाइन्छ । 

 आधुनिक र प्रविधियुक्त विश्वमा अन्तरदेशीय र देशभित्र हुने युद्ध, हिंसा, विभेदका कारण मानवता कमजोर हुँदै गइरहेको जनाइएको छ । यसैगरी विश्वमा तापक्रम वृद्धि र जलवायु परिवर्तनको प्रभावका कारण विपद्का घटना, खडेरी र अनिकालका कारण मानवताको रक्षा थप चुनौतीपूर्ण बन्दै गइरहेको छ । 

यसै सन्दर्भमा यस वर्षको नारा ‘मानवतालाई जीवित राखौँ’ ले यस अनिश्चित, ध्रुवीकृत, द्वन्द्व र विभेदको चपेटामा परेको संसारमा निःस्वार्थ सेवाभाव राखी मानवीय पीडा कम गर्न अहोरात्र खटिने स्वयंसेवकहरूले पुर्‍याउने सेवामार्फत मानवताको दियो जगाइराख्न आवश्यक छ’ भन्ने सन्देश दिन खोजेको छ । 

यस दिवसले रेडक्रसकर्मीमा मानवीय आत्मसम्मानको रक्षा गर्ने, मानवीय पीडा कम गर्ने र विशेषतः पहुँच बाहिर जोखिमपूर्ण अवस्थामा रहेका व्यक्ति तथा समुदायलाई सेवा गर्ने प्रेरणा र प्रतिबद्धता प्राप्त हुनेछ भन्ने अपेक्षा गरिएको छ । 

रेडक्रस अभियान मूलभूतरूपमा मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, स्वयंसेवा, एकता र विश्वव्यापकता जस्ता सात आधारभूत सिद्धान्तद्वारा निर्देशित भई कार्य गर्ने गर्दछ । रेडक्रस अभियानले प्रत्येक वर्ष सशस्त्र सङ्घर्ष र विभिन्न विपत्तिका बेला विश्वभरिका नौ करोड ५० लाखभन्दा बढी व्यक्तिलाई सेवा पुर्‍याउन सक्षम रहेको जनाइएको छ । 

रेडक्रस अभियान विश्वको सबैभन्दा ठूलो मानवीय सञ्जाल भएको अन्तर्राष्ट्रिय परोपकारी संस्था हो । विश्वभरका १९१ राष्ट्रिय सोसाइटीहरूसहित मिलेर बनेको यस अभियानमा करिब एक करोड ६० लाखभन्दा बढी स्वयंसेवक आबद्ध रहेको रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.