0
प्रतिक्रिया
पोखरा । आर्थिक वर्ष २०८०/०८१ मा नेपालमा सात हजार दुई सय २३ जनाको आत्महत्याको कारण ज्यान गएको पाइएको छ । जसमा गण्डकी प्रदेशमा मात्रै छ सय ५७ जनाको ज्यान गएको छ ।
वर्डलिंक कम्युनिकेसन लिमिटेड र साइकटेस्क फाउण्डेसनद्वारा आयोजित आत्महत्या रोकथाम सहजीकरणसम्बन्धी तालिममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।
पोखरा महानगरपालिकाको संयोजनमा भएको तालिममा स्वास्थ्य, शिक्षा क्षेत्रका कर्मचारी, शिक्षक प्राध्यापक विद्यार्थी गरी ३० जना सहभागी थिए ।
तालिममा साइक डेस्क फाउन्डेसनका संस्थापक डा नरेन्द्रसिंह ठगुन्ना र मनोविद ज्योत्सना डांगीले सहजीकरण गरेका छन् ।
पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन राजेश कुमार ठगुराठीले तालिमलाई व्यवहारमा उतार्न सके आत्महत्या रोकथाम तथा न्यूनीकरणलाई सहयोग पुग्ने बताए ।
उनले विद्यालय तथा क्याम्पससम्म तालिम प्रशिक्षण गर्न सके समुदायसम्म आत्महत्या रोकथामका लागि सहयोग पुग्ने उल्लेख गरे ।
पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिम्सिनाले आत्महत्या रोकथामको विषयलाई महानगरले उच्च प्राथमिकतामा राखेर काम गरेको जानकारी दिए ।
महानगरको नीति तथा कार्यक्रममा राखेर आत्महत्या रोकथामको क्षेत्रमा काम भएको उल्लेख गर्दै उनले वडा तहमा आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि समिति गठन गरेर काम भएको बताए ।
वल्र्डलिंकका सेयर सदस्य तथा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) प्रमुख अनुपा भण्डारी जलानले संस्थाले समाजप्रतिको उत्तरदायित्व, समाज विकास र उत्थानका लागि कार्यक्रम गरेको जानकारी दिइन् ।
वल्र्डलिंकले महिलाको सशक्तीकरण, मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरेको जानकारी दिदै उनले १० हजारभन्दा बढी व्यक्तिलाई इन्टरनेटको सुरक्षित प्रयोगबारे तालिम दिएको बताइन् ।
साइकडेस्क फाउन्डेसनका संस्थापक ठगुन्नाले आत्महत्या सामुदायिक स्वास्थ्यको विषय भएको बताए ।
‘सरोकारवाला निकायको समन्वय र प्रभावकारी कार्यक्रम गरेको खण्डमा आत्महत्यालाई शत प्रतिशत रोकथाम गर्न सकिन्छ,’ उनले भने, ‘तर नेपालको सन्दर्भमा आत्महत्यालाई शून्यमा झार्न कठिनाई छ ।’
उनले दिगो विकास लक्ष्य अनुसार प्रति एक लाखबाट ४ दशमलव ७६ झार्न सम्भव नभएको बताए ।
उनले सञ्चारमाध्यममा आत्महत्याको घटनाको उचित सम्प्रेषणले आत्महत्याको जोखिममा रहेको व्यक्तिको ज्यान जोगाउन सहयोग पुग्ने दाबी गरे ।
उनले आत्महत्याका सम्भावित साधन तथा माध्यममा पहुँच सीमित गर्न संवेदनशील मिडिया रिर्पोटिङ गर्नुपर्नेमा जोड दिए ।
जिल्ला प्रहरी कार्यालय महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी निरीक्षक सरला ढकाल, प्रशिक्षक ज्योत्सना डांगी, सहभागी जीवा शर्मालगायतले तालिमको महत्वबारे बोलेका थिए ।
डा ठगुन्नाका अनुसार आत्महत्या रोकथामका लागि साइडवाकटक कम्युनिटी लिसनिङ परियोजना पोखरामा सुरुवात गरिने भएको छ ।
पहिलो चरणमा दुई दिन महानगरका विभिन्न सार्वजनिक स्थलमा गर्ने कामर्यक्रममा लेकसिटी कलेजका सामाजिक अध्ययन विषयका १० विद्यार्थी स्वयंसेवकका रुपमा खटिने छन् ।
Copyright © 2024 | All rights reserved.