बैशाख २७, २०८२, शनिबार

पाेखराबाट आन्तरिक गन्तव्यमा नियमित उडान सञ्चालन गर्नेबारे छलफल


Advertisement Image
clock icon 9 hours, 50 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न शहरमा सिधा हवाई सेवा सञ्चालनको सम्भावनाबारे छलफल भएको छ ।

पोखरा महानगरपालिकाको पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र निजी क्षेत्रका हवाई सेवा प्रदायक आन्तरिक उडान कम्पनीका अधिकारीबीच छलफल भएको हो ।

छलफलमा मन्त्री पाण्डेले पर्यटन राजधानी पोखरामा सञ्चालनमा रहेको सुविधा सम्पन्न विमानस्थलबाट सम्भाव्य आन्तरिक गन्तव्यमा नियमित उडान सञ्चालन गर्न सेवा प्रदायकलाई आग्रह गरे ।

सरकारको तर्फबाट आवश्यक नीतिगत सहयोगका लागि आफूहरू तत्पर रहेको उल्लेख गर्दै उनले काठमाडौँ विमानस्थलको व्यस्तता र केन्द्रीकृत सेवाको यथाशक्य विकेन्द्रीकरणमा जोड दिए ।

पोखराबाट नियमित बाहेक अन्य नयाँ गन्तव्यहरूमा पनि उडान सञ्चालन गर्न सके पर्यटकीय गतिविधि चलायमान हुने उनले विश्वास व्यक्त गरे ।

पोखरा महानगरपालिकाका प्रमुख आचार्यले पोखरा सबै हिसाबले तयार रहेकाले तत्काल मुलुकका सात वटै प्रदेशमा सञ्चालनमा रहेका विमानस्थलमा हवाई सेवा सञ्चालनको व्यवस्थापन गर्न निजी वायुसेवा प्रदायकहरूलाई आग्रह गरे ।

पर्यटन राजधानी पोखराबाट मुलुकको कुनै पनि कुनामा हवाई यात्रामार्फत पुग्न सकिने सुनिश्चितता गर्न आफूहरू आवश्यक सहजीकरणको लागि तयार रहेको प्रमुख आचार्यले बताए ।

सबैभन्दा सुरक्षित मानिएको हवाई सेवाले पोखरालाई देशभर जोड्न सकिएमात्र पर्यटनलगायत अन्य क्षेत्रको विकासमा असन्तुलनको अवस्था अन्त्य हुने बताए ।

सो अवसरमा नगर प्रमुख आचार्यले मन्त्री पाण्डेलगायत क्यानका अधिकारीसँग पुरानो पोखरा विमानस्थल, विमानस्थलकै अवस्थामा रहन्छ, भन्ने कुराको सुनिश्चितता समेत माग गरे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सन्दर्भमा पछिल्लो पटक चर्चामा आएका विषयवस्तु कपोलकल्पित र भ्रामक रहेको टिप्पणी गरे ।

छानबिन समितिको प्रतिवेदनका नाममा सत्य तथ्य कुरा नबुझीकन सस्तो लोकप्रियताका लागि भ्रमको खेती गर्न खोजिएको उनको टिप्पणी छ ।

विमानस्थल पूर्ण क्षमतामा सेवा दिन सक्षम रहेको उल्लेख गर्दै उनले देशभरका सम्भाव्य स्थानहरूमा पोखराबाट सेवा प्रदानका लागि आवश्यक व्यवस्थापनका लागि विशेष पहल गर्ने प्रतिबद्धता जाहेर गरे ।

छलफलमा बुद्ध एयरका अपरेसन डाइरेक्टर सुवर्ण खरेल, यति एयरलाइन्सका अध्यक्ष सोनाम शेर्पा, श्री एयरलाइन्सका अध्यक्ष सुधीर मित्तल, समिट एयरका मनोज कार्कीलगायतले आफूहरू सेवाका लागि तयार रहेको बताएका छन् ।

सेवाको दिगोपनाका सम्बन्धमा आवश्यक सम्भाव्यताको अध्ययन गरी नियमितबाहेक निश्चित क्षेत्रमा सेवा उपलब्ध गराउन तयार रहेको उनीहरूले प्रतिबद्धता जाहेर गरे।

Copyright © 2024 | All rights reserved.