बैशाख २९, २०८२, सोमबार

किराँत समुदायको उधौली पर्व मनाइँदै


Advertisement Image
clock icon 9 hours, 36 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । किराँत समुदायको दोस्रो महत्वपूर्ण पर्व उधौली आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ ।

किराँत राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनु अघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ । यस चाडमा किराँतीहरु एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्दछन् ।

किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ ।

वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो । बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ ।

उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ ।

किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् ।

Copyright © 2024 | All rights reserved.