0
प्रतिक्रिया
पोखरा । कोल्याबोरेटीभ एजुकेसनल पार्टनरसिप (सीइपी) कास्कीअन्तर्गतका १८ संस्थागत विद्यालयका अंग्रेजी शिक्षक-शिक्षिकाको अभिमुखीकरण गरिएको छ ।
सोही क्लस्टरको आयोजना, एकता बुक्स डिस्टिब्युटर्स प्रालिसँगको सहकार्य तथा अल्फा बोर्डिङ स्कुलका सहप्राचार्य कृष्ण लम्सालको संयोजकत्वमा कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रशिक्षक तथा बिषय विशेषज्ञ प्राध्यापक डा. लक्ष्मण ज्ञावलीले सहभागी ७० जना शिक्षकलाई अभिमुखीकरण गराएका थिए ।
कार्यक्रममा शिक्षक-शिक्षिकाबीच अंग्रेजी पाठ्यक्रम, यसका उद्देश्य, विद्यार्थी मूल्यांकनका आधार तथा विश्वसनीयता, शिक्षण कार्यशाला, शिक्षण सिकाई प्रक्रिया तथा सामग्रीका साथै प्रश्नोत्तर कार्यक्रम जस्ता महत्वपूर्ण विषय-वस्तुमाथि छलफल गरिएको थियो ।
कार्यक्रममा व्याप्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले अभिमुखीकरणले शिक्षकमा पुनर्ताजगी सिर्जना गर्दै कक्षाकोठामा फर्किन थप उर्जा तथा हौसला मिल्ने दावी गरे ।
उनले सरकारी पाठ्यक्रमको उद्देश्य र मूल्याङ्कन प्रणालीबीच स्पष्ट सम्बन्ध स्थापना गर्दै शिक्षणलाई प्रभावकारी बनाउन पनि कार्यक्रमले सघाउने बताए ।
कार्यक्रमले सैद्धान्तिक पक्षसँगै यसको प्रयोगात्मक पक्षमा पनि सघाउने दावी गर्दै गौतमले विद्यार्थीको सिकाइ उपलब्धि प्रभावकारी ढंगले मूल्याङ्कन गर्न पनि महत्वपूर्ण हुने बताए ।
प्याव्सन कास्कीका सचिव सुरेन्द्रमान सिंह भण्डारीले यस्ता कार्यक्रम शिक्षकको पेशागत हितमा अपरिहार्य रहने बताए ।
यस्तो तालिमले शिक्षण सिकाइ प्रक्रियामा गुणस्तर वृद्धि गर्ने मुख्य आधार हुने भन्दै उनले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागी शिक्षकहरूलाई आग्रह गरे ।
कार्यक्रम संयोजक लम्सालले कार्यक्रमले प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण आधार बन्ने दावी गरे ।
कार्यक्रममा सहभागी शिक्षक-शिक्षिकालाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।
कार्यक्रममा एकता बुक्स डिस्टिव्युटर्स प्रालि पोखराका प्रवन्ध निर्देशक रामचन्द्र तिमोथी तथा सीइपी कास्कीका संयोजक डा. टेक नारायण पौडेलले पनि बोलेका थिए ।
कार्यक्रममा सहभागी शिक्षकहरूले तालिम अत्यन्त उपयोगी र व्यवहारमैत्री भएको प्रतिक्रिया जनाएका छन् । उनीहरूले यस्ता कार्यक्रमले शिक्षण कार्यमा नयाँ दृष्टिकोण र उत्साह थप्ने विश्वास व्यक्त गरेका छन् ।
Copyright © 2024 | All rights reserved.