0
प्रतिक्रिया
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आज बुधबार चर्चित हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ आउने भएका छन् । उनले हास्य प्रहसनमार्फत कोटीहोममा सहभागी भक्तजनलाई हसाउने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
यस्तै कोटीहोममा ज्येष्ठ १ गते चर्चित गायिका एलीना चौहान, २ गते लोकदोहोरी गायिका पूर्णकला बिसी, ३ गते देउडा गायक नन्दकृष्ण जोशी, ४ गते भजन गायक रमेश सापकोटा, ५ गते लोकदोहोरी गायक राजु ढकाल, ६ गते हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ र २४ गते महानायक राजेश हमालसमेत सहभागी हुने संयोजक ढकालले जानकारी दिए ।
वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको सुमधुर स्वरमा भजन प्रस्तुति भइरहेको छ, जसले कोटीहोम सङ्गीतमय बनेको छ । विधिन्न कलाकारको प्रस्तुति र सङ्गीतमय भजनले कोटीहोममा सहभागी भक्तजन निकै आनन्द लिएका छन् ।
कोटीहोममा मङ्गलबार राष्ट्रिय लोकदोहोरी गायक श्याम रानाको भजन प्रस्तुतिमा भक्तजन छमछम नाचेका थिए ।
मङ्गलबार कोटीहोममा सहभागी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद शङ्कर भण्डारीले सनातन धर्म संस्कार संस्कृतिको जगेर्ना गर्न कोटिहोमले सन्देश दिएको बताए ।
साथै गण्डकी प्रदेशसभा सदस्य विन्दु पौडेल, द्रोणकुमार कुँवर, प्रकाश बराल, जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख तथा जिभी फाउन्डेसनका संस्थापक डा.जगदीश वैद्य, प्रहरी वरिष्ठ उपरीक्षक अभिमन्यू श्रेष्ठले कोटीहोमको खुलेर प्रशंसा गर्दै यस्तो ऐतिहासिक कोटिहोमले निकै राम्रो सन्देश प्रवाह गर्ने दावी गरे ।
संयोजक ढकालका अनुसार कोटीहोममा हालसम्म पाँच लाख बढी भक्तजन सहभागी भइसकेका छन् । जसले आयोजक निकै उत्साहित भएको उनले बताए ।
वैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ ।
कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा सञ्चालन हुनेछ ।
Copyright © 2024 | All rights reserved.