जेठ ११, २०८२, शनिबार

पाेखरा-८ लाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा


Advertisement Image
clock icon 5 days, 20 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा . पोखरा महानगरपालिका वडा नं.८ लाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । वडाको सेवा क्षेत्रभित्र रहेका १६ देखी ५९ महिनासम्मका बालबालिकाहरूले १५ महिनाभित्र पाउनु सबै खोप प्राप्त गरेको सुनिश्चितता पश्चात् घोषणा कार्यक्रम गरिएको हो ।

पूर्ण खोप सुनिश्चितताका लागि स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत घरधुरी सर्वेक्षण समेत गरिएको अधिकारीहरूले बताएका छन् ।

घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख मन्जुदेवी गुरुङले बालबालिकाको सुरक्षित भविष्यमा लागि खोप एक प्रभावकारी र अत्यावश्यक कार्यक्रमका रूपमा सञ्चालन गरिएको बताए ।

महानगरपालिका क्षेत्रमा रहेका सबै बालबालिकाहरूलाई समयमा नै खोप उपलब्ध गराउने दायित्वप्रति आफूहरू प्रतिबद्ध रहेको उनले बताए ।

बालबालिकाको स्वास्थ्य सुरक्षा विना स्वस्थ नागरिकको सामाजिक आवश्यकता पूर्ति गर्न नसकिने उनले बताए । स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले आफूहरूको महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता सहित दिगोपना घोषणाको क्रममा रहेको बताए ।

पोखरा महानगरपालिका वडा नं.८ का वडा अध्यक्ष रुद्रनाथ बरालले आफ्नो वडाको बढ्दो जनघनत्वका बाबजुद बालबालिकाको स्वास्थ्य प्रवर्द्धन र आधारभूत खोपको सुविधा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए ।

वडा नं.७ का वडा अध्यक्ष राममोहन आचार्यले बालबालिकाको स्वास्थ्यका विषयमा अभिभावकको चासो पनि उत्ति कै महत्त्वपूर्ण हुने बताए।

पोखरा महानगरपालिका स्वास्थ्य व्यवस्थापन समितिका उपाध्यक्ष पूर्ण लामाले नागरिकको समग्र स्वास्थ्यलाई व्यवस्थित र दिगो बनाउन बाल्य अवस्थाबाटै पाउनु पर्ने आधारभूत सेवाहरूको नियमिततामा जोड दिए ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीकी अध्यक्ष भीमा पौडेलले बालबालिकालाई आवश्यक खोप तथा पोषणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने हरेक अभियानमा महिला स्वयंसेविकाको भूमिका उल्लेखनीय हुने गरेको बताए ।

शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख कुश्मराज सुवेदीले यस अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्थानीय राजनीतिक दलहरू, नागरिक समाजलगायतको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

महानगरपालिकाका ३१ वटा वडा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा भइसकेका छन् भने, बाँकी २ वटा वडा घोषणा हुने क्रममा छन् । यही जेठ १० गतेभित्र महानगरपालिकालाई नै पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गर्ने तयारी गरिएको छ ।

Copyright © 2024 | All rights reserved.