जेठ ११, २०८२, शनिबार

पोखराका भूमिहीन सुकुम्बासीले दलका नेतासँग खोजे समस्या समाधानको प्रतिवद्धता


Advertisement Image
clock icon 6 hours, 30 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले बिहीबार कास्की जिल्लाका राजनीतिक दलसँग अन्तरक्रिया गरेका छन् । पृथ्वीचोक बसपार्कको जग्गामा बस्दै आएका बसोबासीको घरजग्गा खाली गराउन वडा कार्यालयले सूचना जारी गरेपछि उनीहरुले यसअघि विभिन्न निकायमा मागपत्र बुझाएका थिए ।

बिस २०३६ सालदेखि बसोबास गरेकाहरुलाई ३५ दिनभित्र घरजग्गा खाली गरिदिन वडा कार्यालय ९ ले गएको बैशाख २ गते पत्र काटेको थियो ।

त्यो जग्गा पोखराका विभिन्न व्यक्तिका नाममाा दर्ता भएको भन्दै खाली गरिदिन वडा कार्यालयले पत्र काटेको थियो । कित्ता नम्बर १७२ को कुल ११५ रोपनी मध्ये ७२ रोपनी जग्गा पछि दर्ता भएको बताइएको छ ।

पृथ्वीचोकको जग्गा खाली गर्ने सूचना जारी भएको ३५औं दिनमा पोखरामा आयोजित कार्यक्रममा भने विभिन्न दलका नेताहरुले सुकुम्बासी समस्या समाधानका लागि प्रतिवद्धता गरेका छन् । राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीको आयोजनामा भएको कार्यक्रममा उनीहरुको त्यस्तो भनाइ आएको हो ।

अन्तरक्रिया कार्यक्रमका प्रमूख अतिथि राष्ट्रिय भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य निर्मल नेपालीले सबै दलहरु पटक पटक सरकारमा सहभागी भए पनि समस्या समाधान गर्न चासो नदिएको बताए । भूमि अधिकारकर्मी नेपालीका अनुसार सुकुम्बासी समस्याका आडमा धनी पुँजीपतिहरुलाई जग्गा दिने काम गरिएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका उपसभापति युवराज कुँवरले चुनावका बेलामा पार्टीहरुले सुकुम्बासीहरुलाई झुक्याएको भन्दै अबका दिनमा समस्या समाधान गर्न लाग्नुपर्नेमा जोड दिए । कांग्रेस नेता कुँवरले सुकुम्बासी समस्या समाधानमा आफू र आफ्नो सँधै लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

नेकपा एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले समस्या समाधान नुहुनुमा कुनै एउटा मात्र दललाई दोप दिएर उम्कन नमिल्ने तर्क गरे । विगतमा सबै दलहरु सरकारमा सहभागी भएको तथ्य स्मरण गराउँदै अबका दिनमा सबैको सहकार्यमा कार्य सम्पन्न गरिनु पर्ने एमाले नेता बरालको भनाइ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकीका महामन्त्री वरुणविक्रम राणाले सत्तारुढ दलहरुको अर्कमण्यताका कारण सुकुम्बासी समस्या समाधान हुन नसकेको दावी गरे । प्रधानमन्त्रीले चाहने हो भने ६ महिनाभित्र सुकुम्बासी समस्या समाधान हुने उनको तर्क छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका उपाध्यक्ष राजु राईले सत्तारुढ दलसँग संसदमा दुई तिहाइ बहुमत रहेकोले सुकुम्बासी बारे आवश्यक निर्णय गर्न कुनै समस्या नहुुनु पर्ने जिकिर गरे ।

सत्तारुढसहित अरु दलहरु सुकुम्बासी समस्या समाधान भए भोट बैंक समाप्त हुने भयबाट त्रसित भएको भन्दै आवश्यक निर्णय गरेर देखाउन रास्वपा नेता राईले चुनौति दिए ।

माओवादी केन्द्रका नेता भीम नेपालीले सुकुम्बासीका पक्षमा आफ्नो पार्टी सदैव लागि रहने भन्दै समस्या समाधान नभइकन कसैलाई पनि घरजग्गाबाट उठिबास नगर्न चेतावनी दिए ।

राष्ट्रिय भूमि अधिकार मञ्च गण्डकी अध्यक्ष रामबहादुर लामिछानेले गणतन्त्र आए पनि जनताको घरमा लालपुर्जा नआएको तर्फ सबै राजनीतिक दलहरुको ध्यान जानु पर्ने बताए ।

मञ्चको कास्की जिल्ला अध्यक्ष प्रेम गुरुङले पटकपटक भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान आयोग गठन गरे पनि कास्कीमा समस्या ज्यूँका त्यूँ रहेकाले सरकार असफल बनेको जानकारी दिए ।

कार्यक्रममा कास्कीका विभिन्न वडा तथा टोलमा भूमिहीन र अव्यवस्थित बसोबासीले भोगेका समस्या बारे सहभागीले राजनीतिक दलका नेताहरुलाई जानकारी गराएका थिए ।

Copyright © 2024 | All rights reserved.