जेठ ११, २०८२, शनिबार

कोटीहोममा आज अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा आउने


Advertisement Image
clock icon 5 hours, 29 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरामा जारी श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा आउने भएकी छन् । उनले जेठ १६ गतेसम्म प्रवचन दिने कार्यक्रम छ ।

यसअघि वैशाख ५ गते पोखरा आएकी देवी प्रतिभाले १४ दिनसम्म श्रीमद्भागवत कथा सुनाएकी थिइन् । देवीको ‘प्यार से बोलेन’ भन्ने शब्द निकै परिचित छ ।

यस्तै जेठ १४ देखि २२ गतेसम्म भागवत मञ्जरी राधिका दासीले प्रवचन दिने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनले महायज्ञमा श्रीमद्भागवत कथा वाचन गर्नेछिन् ।

संयोजक ढकालका अनुसार शुक्रबारमात्र एक लाख भन्दा बढी भक्तजन कोटीहोममा आएका थिए । शुक्रबार एकादशीको दिन परेकाले वैदिक विधिबाट विविध पूजाआर्चना, हवन तथा आध्यात्मिक प्रवचन भएका थिए ।

ढकालका अनुसार श्री विभूषित १००८ स्वामी पुरुषोत्तमजी महाराज, गलेश्वर आश्रमका शिव आचार्य गुरुले भक्तिभावसहित कथा वाचन र भजन प्रस्तुत गरेका थिए ।

कोटिहोममा आयोजित रक्तदानमा हालसम्म छ सय भन्दा बढी युनिट रक्तदान संकलन भएको छ । साथै राष्ट्रिय भजन प्रतियोगितामा दुई सयभन्दा बढी समूहले सहभागिता जनाइसकेका छन् ।

कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमअन्तर्गत ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता, सुप्रसिद्ध मोटिभेटर डा. ताराप्रसाद गिरीद्वारा प्रशिक्षण र विभिन्न धार्मिक क्रियाकलाप सञ्चालन भइरहेका छन्।

दैनिक चार सयभन्दा बढी ब्राह्मणद्वारा हवन सञ्चालन भइरहेकाले वातावरण शुद्ध र आध्यात्मिक ऊर्जा प्रदान हुनेछ ।

महायज्ञमा तुलादान, ग्रहशान्ति, पितृ पुराण, विवाह, हनुमान चालीसा, रुद्राभिषेक, भूमिदान, गोदानजस्ता विविध कर्मकाण्डहरूको पनि व्यवस्था छ ।

कोटीहोममा १८ पुराण, ४ वेद र १०८ श्रीमद्भागवत पाठ पारायण हुने कार्यक्रम, एक मुठी माटो ल्याएर भूमि पूजनमा सहभागी हुने व्यवस्था, विवाह इच्छुकका लागि शुभ विवाह कार्यक्रम, विभिन्न पाठ-पूजा, दान र अनुष्ठान गर्ने अवसरहरू प्रदान गरिएको छ ।

साथै दक्षिण एशियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारीबाट थाली नृत्यसहितको सांस्कृतिक झाँकी प्रस्तुत गर्ने कार्यक्रम पनि छ ।

मानव सेवा फाउन्डेसनद्वारा ललितपुर र भक्तपुरमा सञ्चालित सामाजिक अभियानको सहयोगार्थ कोटिहोम आयोजना गरिएको हो ।

Copyright © 2024 | All rights reserved.