0
प्रतिक्रिया
पाेखरा । पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । नगर प्रमुख धनराज आचार्यले एक समारोहका बिच सो घोषणा गरेका हुन्।
नेपाल सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि प्रत्येक वर्ष नगरभित्रका सबै बालबालिकाले तोकिएका खोप प्राप्त गरेको सुनिश्चिततासहित यस्तो घोषणा गर्ने गरिन्छ ।
नगर प्रमुख आचार्यले बालबालिकाको सुरक्षित भविष्य निर्माणका लागि उनीहरूले प्राप्त गर्नुपर्ने सबै प्रकारका खोपसहित स्वास्थ्यसम्बन्धी सेवा समयमा नै उपलब्ध गराउनु पर्ने दायित्वप्रति आफूहरू प्रतिबद्ध रहेको बताए ।
बालबालिकाका लागि आवश्यक खोप तथा पोषणका कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन गर्न उनले स्वास्थ्यकर्मीलाई निर्देशनसमेत दिए ।
स्वास्थ्यसम्बन्धी अभियानमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेखनीय हुने गरेको बताउँदै उनले पूर्ण खोपको सुनिश्चिततामा समेत उनीहरूको महत्त्वपूर्ण योगदान रहेको बताए ।
महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले बालबालिकाका लागि खोप एक प्रभावकारी र अत्यावश्यक कार्यक्रमका रूपमा सञ्चालन गरिएको बताइन्।
महानगरपालिका क्षेत्रमा रहेका सबै बालबालिकालाई समयमा नै खोप उपलब्ध गराउने दायित्व प्रति आफूहरू प्रतिबद्ध रहेको उनले बताए । बालबालिकाको स्वास्थ्य सुरक्षा विना स्वस्थ नागरिकको सामाजिक आवश्यकता पूर्ति गर्न नसकिने उनले बताए ।
स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले आफूहरूको महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता सहित दिगोपना घोषणाका लागि निरन्तर अभियान सञ्चालन गरेको बताए।
विगत एक वर्षको अवधिमा ०-१५ महिनासम्मका पाँच हजार तीन सय ४१ र १६-२३ महिनासम्मका चार हजार एक सय ५० बालबालिकाको घरघरमा पुगेर खोपको अवस्था यकिन गरिएको स्वास्थ्य महाशाखा प्रमुख पौडेलले बताए।
अभियानका क्रममा जन्मदेखि कुनै पनि खोप प्राप्त नगरेको एक जना बच्चा फेला परेको र उक्त बच्चालाई समेत खोपको पहुँचमा ल्याइएको महाशाखाले जनाएको छ । यस क्रममा ४१ जना बालबालिकाले पूर्ण खोप प्राप्त नगरेको पाइएपछि उनीहरूलाई समेत पूर्ण खोप लगाइएको छ ।
पोखरा महानगरपालिका वडा नं.१२ का वडाध्यक्ष सन्तोष बास्तोलाले बालबालिकाको स्वास्थ्य प्रवर्द्धन र आधारभूत खोपको सुविधा उपलब्ध गराउन सबै वडा कार्यालय प्रतिबद्ध रहेको बताए ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीकी अध्यक्ष भीमा पौडेलले बालबालिकालाई आवश्यक खोप तथा पोषणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने हरेक अभियानमा महिला स्वयंसेविकाको भूमिका उल्लेखनीय हुने गरेको बताइन् ।
नगर क्षेत्रका खोप लगाउनु पर्ने बालबालिकालाई खोप लगाएको सुनिश्चित भएपछि महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको जनस्वास्थ्य अधिकृत तेजाखर लम्सालले बताए। कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिले बालबालिकाको स्वास्थ्य प्रवर्द्धनको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताएका छन् ।
पूर्ण खोप भन्नाले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनु पर्ने सबै खोप, सबै बालबालिकाले पूर्ण रूपमा लिएको एवं पछि तालिकामा अन्य खोप थप भएमा सो समेत लिएको अवस्थालाई बुझिन्छ भने पूर्ण खोप सुनिश्चितताका लागि १६ महिनादेखि ५९ महिना सम्म उमेरको बालबालिकामा खोप अवस्थाको पहिचान र विश्लेषण गरिन्छ ।
Copyright © 2024 | All rights reserved.