0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं ८ को आयोजना तथा नीति एकेडेमी पोखरा-९ को सहकार्यमा आयोजित वेव डिजाइन एवं डेभलपमेन्ट तालिम समापन भएको छ ।
मंगलबार नीति एकेडेमीको सभाहलमा आयोजित समापन कार्यक्रममा वडाध्यक्ष रुद्रनाथ बरालले १८ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरे ।
उक्त अवसरमा वडाध्यक्ष बरालले तालिममा सिकेका सिपलाई व्यवहारमै उतारेर स्वरोजगार बन्न आग्रह गरे । उनले भने, ‘अब तपाईंहरुले घरमै बसेर निकै मेहनत गर्नुस्, केही नबुझे प्रशिक्षकसँग समन्वय गर्नुस् ।’
वडा कार्यालयले स्वरोजगार बनाउने उद्देश्यले धेरै प्रकारका तालिम सञ्चालन गरिरहेको उनले बताए । वर्तमान समयलाई ध्यानमा राखेर तालिम आयोजना गरिएको भन्दै उनले भने, “हामी अब डिजिटल युगमा छौँ, जहाँ सिप नै शक्ति हो, तालिममा सहभागी भएकाहरुले सिकेका सीपहरु भोलिका उद्यमी, डिजाइनर र विकासकर्ताको जग बन्नेछन् ।”
डिजिटल प्रविधिको विकाससँगै प्राविधिक सीपमा दक्ष बनाउन पनि तालिम महत्वपूर्ण हुने वडाध्यक्ष बरालको विश्वास छ ।
नीति एकेडेमीका अध्यक्ष माधव पोखरेलले तालिमका लागि तालिम आयोजना नगरिएको भन्दै तालिमले विद्यार्थीलाई धेरै कुरा सिकाएको र अब व्यवसायिकतातर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे । उनले वर्तमान समयमा वेव डिजाइन तालिम जो कसैलाई आवश्यक पर्ने स्पष्ट पारे ।
व्यवसायी एवं प्रशिक्षार्थी दीपकराज घिमिरेले तालिम निकै प्रभावकारी भएको बताए । तालिमबाट धेरै ज्ञान हासिल भएको ले अब निखारता ल्याउनका लागि आफैले मेहनत गर्नुपर्ने उनले बताए ।
वडाध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा-८ का वडासदस्य गोविन्द बराल, वडासचिव झंकनाथ पौडेल, पत्रकार हरि पन्तलगायतले बोलेका थिए ।
नीति एकेडेमीले ग्राफिक डिजाइन, वेव डिजाइनिङ, डिजिटल मार्केटिङ, वेसिक तथा डिप्लोमा कम्प्युटर ट्रेनिङ, सफ्टवेयर डेभलपमेन्ट र आरजे एवं भीजे ट्रेनिङ गर्दै आएको छ ।
हालसम्म नीति एकेडेमीले करिब पाँच सय विद्यार्थीलाई शिक्षा प्रदान गरी रोजगार दिन सफल भएको छ ।
Copyright © 2024 | All rights reserved.