जेठ १७, २०८२, शुक्रबार

आज अठारौँ गणतन्त्र दिवस हर्षाेल्लास साथ मनाइँदै


Advertisement Image
clock icon 1 day, 10 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडाैँ । आज अठारौँ गणतन्त्र दिवस स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी हर्षाेल्लास साथ मनाइँदैछ ।

गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट महानुभाव सहभागी हुनेछन् ।

त्यसअवसरमा गौरवमय परिवर्तनका लागि सहादत प्राप्त गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजको योगदानको स्मरण गरिनेछ ।

कार्यक्रममा गणतन्त्रको महत्त्व झल्कने विभिन्न झाँकी प्रदर्शनी गरिने छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटलगायतबाट मार्चपास हुनेछ । गणतन्त्र दिवस-२०८२ अङ्कित ब्यानर प्रदर्शन र पुष्पवृष्टि गर्ने कार्यक्रम छ ।

मुलुकमा सामाजिक न्याय, स्वाधीनता र समृद्धि सुनिश्चिता गर्न तथा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलन र सङ्घर्षमा धेरै नेपालीजनले जेलनेल र यातना सहन परेको थियो ।

तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरूद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेकपा (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा मुलुकमा गणतन्त्र घोषणा गरिएको हो ।

विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा दुई सय ४० वर्षदेखिको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो । उक्त ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ ।

राजनीतिक दल, प्रदेश सरकार, स्थानीय तह र विभिन्न सङ्घसंस्थाले समेत गणतन्त्र दिवसका अवसरमा यसको महत्त्व उजागार गर्ने विभिन्न कार्यक्रम आयोजना गर्नेछन् ।

गणतन्त्र दिवसका अवसरमा नेकपा (एमाले)ले भोलि नै राजधानीमा भृकुटीमण्डपमा ‘गणतन्त्र उत्सव’ आयोजना गरेको छ ।

त्यसैगरी नेकपा(एकीकृत समाजवादी)ले पनि यस वर्षको गणतन्त्रका अवसरमा विभिन्न सामाजिक एवं रचनात्मक कार्य गरी मनाउन मातहतका कमिटिलाई निर्देशन दिएको छ ।

यता गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले १८ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै गणतन्त्र शासन प्रणालीको परिवर्तन मात्र होइन, चेतना र जिम्मेवारीको ऐतिहासिक रुपान्तरण रहेको बताएका छन् ।

लोकतान्त्रिक मूल्य, विधिको शासन, मानव अधिकार, सामाजिक न्याय,सामाजिक समावेशिता र समानताको आदर्शलाई जीवन्त राख्नुपर्नेमा जोड दिँदै प्रदेश प्रमुख भट्टले कुनै पनि विभेद, हिंसा वा असहिष्णुता गणतान्त्रिक मूल्य मान्यताविरुद्ध हुने भएकाले हामीले सहिष्णुता, सहकार्य र संवादलाई सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

Copyright © 2024 | All rights reserved.