जेठ १७, २०८२, शुक्रबार

गणतन्त्र शासन प्रणालीको परिवर्तन मात्र होइन, चेतना र जिम्मेवारीको ऐतिहासिक रुपान्तरण होः प्रदेश प्रमुख


Advertisement Image
clock icon 1 day, 7 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गणतन्त्र शासन प्रणालीको परिवर्तन मात्र होइन, चेतना र जिम्मेवारीको ऐतिहासिक रुपान्तरण रहेको बताएका छन्।

१८औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्ताे बताएका हुन् । ‘जनताको शासन, जनताका लागि, जनताद्वारा चुनेको उन्नत व्यवस्था नै ‘गणतन्त्र’ हो, यो शासन प्रणालीको परिवर्तनमात्र नभई सोच, चेतना र जिम्मेवारीको एउटा ऐतिहासिक रुपान्तरण पनि हो’, उनले भनेका छन् ।

‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने यात्रामा महत्वपूर्ण पाइला चालेका छौँ, संघ, प्रदेश र स्थानीय  सरकार मिलेर सामाजिक न्याय, समावेशिता, सुशासन, विकास र समृद्धिको दिशामा अघि बढ्ने प्रण गरेका छौँ, प्रदेश स्तरमा पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन, रोजगारी, महिला सशक्तीकरणलगायतका क्षेत्रमा महत्वपूर्ण कार्य भइरहेको छ, यी कार्यलाई अझ प्रभावकारी बनाउनु हाम्रो साझा जिम्मेवारी हो’, शुभकामना सन्देशमा प्रदेश प्रमुखले भनेका छन् ।

उनले भने, ‘गणतन्त्रले हामी सबैलाई अधिकार मात्र दिएको छैन, कर्तव्यबोध पनि गराएको छ, जनतामाथि आधारित शासन प्रणालीमा हरेक नागरिकको भूमिका महत्वपूर्ण हुन्छ, देश र प्रदेशको समुन्नतिका लागि हामी सबैको सक्रिय सहभागिता अपरिहार्य छ ।’

लोकतान्त्रिक मूल्य, विधिको शासन, मानव अधिकार, सामाजिक न्याय,सामाजिक समावेशिता र समानताको आदर्शलाई जीवन्त राख्नुपर्नेमा जोड दिँदै प्रदेश प्रमुख भट्टले कुनै पनि विभेद, हिंसा वा असहिष्णुता गणतान्त्रिक मूल्य मान्यताविरुद्ध हुने भएकाले हामीले सहिष्णुता, सहकार्य र संवादलाई सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘गणतन्त्रसँगै हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको मार्ग अवलम्बन गरेका छौँ, संघीयता केवल शासन प्रणालीको रूपान्तरण होइन, जनताको अधिकारलाई अझ नजिक पुर्‍याउने, उनीहरूको समस्या स्थानीय स्तरमै समाधान गर्ने माध्यम हो, संविधानले संघ, प्रदेश र स्थानीय तहलाई आआफ्ना अधिकार र जिम्मेवारी दिएको छ।’

सबै मिलेर हाम्रो प्रदेश र देशलाई शान्त, समुन्नत र समावेशी बनाउने दिशामा अघि बढ्न उनले आग्रह गरे । उनले ऐतिहासिक दिवसले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवर्द्धन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प सार्थक बनाउन प्रेरणा तथा उर्जा मिलोस् भन्ने शुभेच्छासहित शुभकामना व्यक्त गरे ।

Copyright © 2024 | All rights reserved.