जेठ २२, २०८२, बुधबार

सार्वजनिक यातायात सञ्चालन आज पनि ठप्प


Advertisement Image
clock icon 2 days, 16 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गण्डकी प्रदेशमा सार्वजनिक यातायात सञ्चालन चार दिनदेखि ठप्प छ । राइड सेयरिङलाई मान्यता दिनेगरी गण्डकी प्रदेश सरकारले ल्याएको नियमावलीको विरोधमा सार्वजनिक यातायात व्यवसायीले आफ्ना सवारी साधन घरमै थन्क्याएर आन्दोलन गरेका हुन् ।

गण्डकी प्रदेशभरि कतै पनि सवारी सञ्चालन नभएको र भोलिदेखि देशैभर सवारी नचल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी संयोजक केदारप्रसाद पौडेलले जानकारी दिए । गण्डकीबाट कुनै पनि सार्वजनिक सवारी बाहिरिन र भित्रिन नपाउने उनले बताए ।

सार्वजनिक यातायात बचाउ संघर्ष समितिले तीन बुँदे माग अघि सारेर आन्दोलन गरिएको समिति प्रवक्ता याेगेन्द्र बहादुर केसीले जानकारी दिए ।

व्यवसायीका तीन बुँदे मागमा सरकारले ल्याएको नियमावली पूर्णरूपमा खारेज हुनुपर्ने, सार्वजनिक सवारी संचालन विधि, आयात नीतिलगायत सम्बन्धमा प्रदेश सरकारको लिखित नीति ठोस हुनुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने छ ।

गण्डकी प्रदेश सरकारले गत जेठ १ मा राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली २०८२ प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो ।

यसैबीच पोखराको पृथ्वीचोकमा अलपत्र परेका करिब नौ सय जना यात्रुलाई सशस्त्र प्रहरीको स्कर्टिङमा काठमाडौं पठाइएको छ । शनिबार साँझ ६ बजे १९ वटा बसमा स्कर्टिङसहित काठमाडौं पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले कास्की जिल्लाको कोत्रेसम्म स्कर्टिङ गरेको थियो । त्यहाँबाट तनहुँस्थित सशस्त्र प्रहरी बल नं २३ मनकामना गणले स्थानीय प्रहरीको सहयोगमा यात्रुलाई मुग्लिनसम्म स्कर्टिङ गरेको थियो ।

Copyright © 2024 | All rights reserved.