0
प्रतिक्रिया
पोखरा । होटल प्रतिनिधि समाज पोखराले गण्डकी प्रदेशमा जारी सार्वजनिक यातायात सेवामा गरिएको हड्तालका कारण पर्यटक र समग्र यात्रुवर्गले दुःख खेप्नु परेको भन्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्न सम्बन्धित पक्षसँग माग गरेको छ ।
समाजका अध्यक्ष माधव लम्सालले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकार र यातायात व्यवसायी वार्तामा बसेर समस्या समाधान गर्न र यातायात सेवालाई सुचारु गर्न आग्रह गरेका हुन् ।
अध्यक्ष लम्सालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘व्यवसायीका तर्फबाट जेजस्ता माग राखेर आन्दोलन गरिए पनि सरकार र व्यवसायी वार्ताका माध्यमबाट एउटा निश्कर्षमा पुगी सार्वजनिक यातायात सेवालाई सुचारु गर्ने वातावरणका लागि सम्वन्धित सबै पक्षलाई हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ ।’
पर्यटन व्यवसायीले विगतदेखि नै बन्द र हड्तालको विपक्षमा आवाज उठाउँदै आएको र बन्द तथा हड्तालका कारण पर्यटन क्षेत्र नकारात्मक रुपमा प्रभावित हुनुका साथै समग्र व्यवसायी र मजदुरसमेत प्रभावित हुने भन्दै समाजले ध्यानाकर्षण गराएको छ ।
समाजले बन्द हड्तालले देशविदेशमा सकारात्मक सन्देश नजाने समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।
‘पर्यटनका लागि सहज पहुँच र यातायात अनिवार्य शर्त भए पनि विगत चनर दिनदेखि गण्डकी प्रदेश क्षेत्रमा सार्वजनिक यातायातका साधन सञ्चालन हुन सकेका छैनन्, गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावली खारेजीलगायतका माग राखेर यातायात व्यवसायी र सम्वन्धित मजदूरका तर्फबाट अगाडि बढाइएको आन्दोलनको प्रत्यक्ष मारमा यात्रु वर्ग पर्नु दुःखको कुरा हो’, अध्यक्ष लम्सालद्वारा विज्ञप्तिमा भनिएको छ ।
पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको, पोखराले अहिले भ्रमण वर्ष २०२५ मनाउँदै गरेको र अन्नपूर्ण प्रथम हिमाल आरोहणको हिरक महोत्सव समेत मनाउने संघारमा गरिएको यातायात हड्तालको समस्या समाधानको उपाय वार्ता नै भएको विज्ञप्तिमा भनिएको छ ।
Copyright © 2024 | All rights reserved.