जेठ २५, २०८२, शनिबार

राजन लम्साल: समाजसेवाका पर्याय


Advertisement Image
clock icon 1 day, 7 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । लायन राजन लम्सालको जन्म स्याङ्जा जिल्लामा वि.सं. २०२६ सालमा भएको हो । उनका पिता पदमराज लम्साल र माता पुष्पा लम्सालका तीन सन्तानमध्ये उनी जेठा सुपुत्र हुन् । लम्साल हाल काठमाडौं महानगरपालिका वडा नं. २६, सामाखुशी टाउन प्लानिङमा स्थायी रूपमा बसोबास गर्दै आएका छन् ।

समाज सेवामा रुचि राख्ने लम्साल नेपाली मौलिक कला, संस्कृति, लोकगीत र भजनको संरक्षणमा समेत सक्रिय छन् । नेपाली लोक र दोहोरी गीत, भजन आदिको जगेर्नामा उनको विशेष योगदान रहँदै आएको छ। उनकै सक्रियतामा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको स्थापना भएको हो । प्रतिष्ठानको संस्थागत विकासमा उनको भूमिका उल्लेखनीय र अतुलनीय छ । करिब साढे दुई दशकदेखि उनी उक्त प्रतिष्ठानको केन्द्रीय सल्लाहकारको रूपमा सक्रिय छन् ।

शिक्षादीक्षा

लम्सालले प्रारम्भिक शिक्षा आफ्नै गाउँस्थित जनप्रिय माध्यमिक विद्यालयबाट प्राप्त गरेका थिए, जहाँ उनले कक्षा ७ सम्म अध्ययन गरे। त्यसपछि कक्षा ८ का लागि उनी बुटवल पुगे र त्यहाँको बुटवल माविमा भर्ना भई अध्ययन जारी राखे । २०४३ सालमा सोही विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे। त्यसपछि काठमाडौं आएर पिपुल्स क्याम्पसबाट व्यवस्थापन संकायमा प्रवीणता तह उत्तीर्ण गरे। त्यसपछि शंकरदेव क्याम्पसबाट स्नातक तहमा व्यवस्थापन विषयमा डिग्री हासिल गरे ।

पेशागत यात्रा

स्नातक तहसम्मको अध्ययन पूरा गरेपछि आत्मनिर्भर बन्नुपर्छ भन्ने भावनाले प्रेरित लम्सालले आफ्नो पेसागत जीवनको सुरुआत चितवनस्थित आइल्याण्ड जंगल रिसोर्टको काठमाडौं कार्यालयमा लेखापालको रूपमा गरे। करिब १२ वर्षसम्म त्यहीँ काम गर्दै उनले वित्तीय तथा प्रशासनिक क्षेत्रमा महत्वपूर्ण अनुभव प्राप्त गरे। त्यसपछि ट्राभल एजेन्सी, होटेल व्यवसाय, म्यानपावर कम्पनीजस्ता व्यवसायमा साझेदारी गर्दै विविध व्यावसायिक यात्रा अगाडि बढाए।

त्यसका अतिरिक्त, कलेज, कन्सल्टेन्सी, बैंक, जलविद्युत कम्पनी, यातायातका साधनको आयात, तथा अन्य थुप्रै निजी कम्पनीहरूमा समेत सहभागी हुँदै अहिले उनी शेयर ब्रोकर व्यवसायमा स्थापित भइसकेका छन्। सामाजिक कार्यप्रति पनि गहिरो लगाव राख्ने उनले ‘सहयोगी हातहरू’ नामक संस्था स्थापना गरी विभिन्न सामाजिक सेवामा समर्पित हुँदै आएका छन्।

लम्सालको लायन्स यात्रा

सन् १९९७ मा लायन्स क्लब अफ सङ्खुवासभा खाँदबारीको सदस्यता लिएपछि लम्सालको लायनिज्म यात्रा सुरु भएको हो । २७ वर्षको उमेरदेखि सामाजिक सेवामा पूर्ण रूपमा संलग्न भएका उनले सन् २०१०–११ मा तत्कालीन डिष्ट्रिक्ट ३२५ बी को डिष्ट्रिक्ट गभर्नर, सन् २०११–१२ मा मल्टिपल काउन्सिल चियरपर्सन, सन् २०१२–१४ मा एसएफएमडी चेयरपर्सन, सन् २०१४–१७ र २०१७–१९ मा जीएलटी को–अर्डिनेटर, सन् २०१७–१९ मा स्पेसियालीटी क्लब कन्ट्री को–अर्डिनेटर, तथा सन् २०१९–२२ मा जीएमटी को–अर्डिनेटर का रूपमा सक्रिय नेतृत्व सम्हालिसकेका छन् ।

लायन वर्ष २०२२–२३, २०२३–२४ र २०२४–२५ लगातार तीन वर्षसम्म एलसीआईएफ एरिया लिडर को जिम्मेवारीमा कार्यरत रहँदै, उनले अन्तर्राष्ट्रिय स्तरमै नेपाललाई प्रस्तुत गर्ने अवसर प्राप्त गरेका छन्।

डिष्ट्रिक्ट गभर्नर भएपछि उनले मल्टिपल डिष्ट्रिक्ट तथा लायन्स क्लब इन्टरनेशनलले प्रदान गरेका विभिन्न भूमिका प्रभावकारी ढंगले निर्वाह गरेका छन्। उनले थुप्रै आरएलएलआई को–अर्डिनेटरका रूपमा काम गरेका छन्, साथै एफडीआई र एलसीएफआईको नेपालस्थित लोकल को–अर्डिनेटरको जिम्मेवारी समेत सम्हालेका छन् ।

उनी गभर्नर भएका बेला डिष्ट्रिक्टका कार्यक्रमहरू काठमाडौंदेखि महेन्द्रनगर, नेपालगञ्ज, र वीरगञ्जसम्म विस्तार गरिएको थियो । लायन्स क्लबका केन्द्रीकृत कार्यक्रमलाई विकेन्द्रीकरण गर्ने काममा उनको विशेष योगदान रह्यो । आफ्नो गभर्नर कार्यकालमै डिष्ट्रिक्ट ३२५ बी को भवन निर्माण अभियान सुरु गरी निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण समेत गरे । पछिल्ला तीन वर्षदेखि उनी एलसीआईएफ एरिया लिडरको रूपमा सक्रिय छन् र नेपालभरिका लायन्सहरूको लागि उत्प्रेरक शक्तिका रूपमा स्थापित छन्।

लम्सालको उम्मेदवारी किन ?

लायन्स क्लबको अन्तर्राष्ट्रिय निर्देशक बनेपछि नेपालको झण्डा र राष्ट्रिय गानलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने अभियानमा आफू क्रियाशील हुने घोषणा गरेका छन् ।”नेपालमा लायनिज्मको विकास र विस्तारमा मेरो सक्रियता निरन्तर जारी छ। त्यसैले तपाईंहरूको प्रेरणा, उत्साह र साथले म लायन्स अन्तर्राष्ट्रियका लागि अन्तर्राष्ट्रिय निर्देशक (इन्डोर्शी) पदमा मनोनयन दर्ता गराइसकेको छु । लायन्स अन्तर्राष्ट्रिय मल्टिपल कन्भेन्सनमा अमूल्य मत र समर्थनको अपेक्षा गरेको छु,ू लम्सालले भनेका छन् ।

लम्सालको सिंगो परिवार नै लायन

लम्सालको पूरै परिवार नै लायन्स आन्दोलनमा आबद्ध छ। उनकी जीवनसंगीनी लायन इन्दु लम्साल सन् २०१९–२० मा लायन्स डिष्ट्रिक्ट ३२५ बि वानको डिष्ट्रिक्ट गभर्नर भइ सकेकी छिन् । यसअघि सन् २०१०–११ मा जब लम्साल गभर्नर थिए, उनले ६५ वटा नयाँ क्लब स्थापना गरेर त्यसबेला विश्व लायनवादको इतिहासमा नै नयाँ कीर्तिमान बनाएका थिए।

लायन इन्दु लम्सालले पनि आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय लायन्सद्वारा प्रदान गरिने ‘एम्बेसडर अफ गुडविल’ अवार्ड प्राप्त गरेकी थिइन्। लायन राजन र इन्दु लम्साल नेपालकै पहिलो ‘पति–पत्नी डिष्ट्रिक्ट गभर्नर’ जोडी हुन्।

विदेश भ्रमण

सन् २००६ मा ट्युनिसियामा सम्पन्न वरिष्ठ लायन लिडरशिप इन्स्टिच्युटमा सहभागी भएपछि लम्सालको अन्तर्राष्ट्रिय अनुभव अझ गहिरो बन्यो। त्यसपछिका वर्षहरूमा उनले अमेरिका, फ्रान्स, जापान, सिंगापुर, मलेसिया, हङकङ, थाइल्याण्ड, भारत, श्रीलंका, ट्युनिसिया, यूएई, चीन, मकाउ, दक्षिण कोरिया, अष्ट्रेलिया, इटली, जर्मनी, स्वीजरल्याण्ड, क्यानाडा, बंगलादेश, लेबनानलगायत थुप्रै देशको भ्रमण गरेका छन्।

भ्रमणका क्रममा त्यहाँका सामाजिक, प्रशासनिक तथा लायन्स परियोजनाहरूको अध्ययन तथा विश्लेषण गरेर आफूमा थप अनुभव र दृष्टिकोणको विकास गरेका छन्।

Copyright © 2024 | All rights reserved.