0
प्रतिक्रिया
पोखरा । पोखरामा जारी श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित राष्ट्रिय भजन प्रतियोगितामा पोखरा-२५ हेमजास्थित देवीस्थान भजन समूह प्रथम भएको छ । योसँगै देवीस्थानले तीन लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै पोखरा-२५ हेमजाकै माछापुच्छ्रे सेवा समाज द्वितीय हुँदै दुई लाख ५५ हजार पाँच सय ५५, पोखरा १७ स्थित बालन एवं कला संस्कृति संरक्षण प्रतिष्ठान तृतीय हुँदै एक लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै, रुपन्देही सैनमैनाको राधाकृष्ण भजन समूह र भद्रकाली खैँजडी भजन समूहले सान्त्वना स्थान हासिल गर्दै ६५/६५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यता, पाल्पा रामपुरको धर्मोदय दश अवतार भजन समूहको उत्कृष्ट झाँकी, भक्ति मार्ग आध्यात्मिक कलाकार सङ्घको उत्कृष्ट अभिनय, मातृकेश्वर एकता भजन समूह पोखरा-२५ हेमजाको उत्कृष्ट शब्द संयोजन, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान कालिका मन्दिर बागलुङको उत्कृष्ट नृत्य, हरिहर भजन समूह स्याङ्जा पुतलीबजारको उत्कृष्ट प्रस्तुति घोषित भएको छ ।
यस्तै, राष्ट्रिय लोक भजन चुट्का भुमही नवलपरासी उत्कृष्ट पुरुष स्वर, सिर्जना भजन समूह माथागडी पाल्पा उत्कृष्ट महिला स्वर, भगवती भजन समूह पोखरा-१४ खाल्टेमसिना अनुशासित, ओम खहरे स्वर भजन समूह, मकवानपुर मनहरी उत्कृष्ट भेषभूषा, श्री गोपाल सिद्ध लोक भजन समूह प्राणिनी समाज उत्कृष्ट वाध्ययन्त्र, ओमकारेश्वर भजन समूह तार्केश्वर काठमाडौँ वैदिक सनातन प्रस्तुति, सनातन बाल समूह नवलपुर गैँडाकोट उत्कृष्ट बाल कलाकार र हरेकृष्ण बौद्धिक ब्राह्मण भजन कीर्तन समूह गैँडाकोट उत्कृष्ट सन्देशमूलक प्रस्तुतिमा घोषित भए ।
विजयी समूहलाई यही जेठ ३० गते शुक्रबार पुरस्कार वितरण गरिने प्रतियोगिताका संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।
प्रतियोगितामा अन्य विधाबाट विजयी समूहले २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्कार पाउनेछन् । कुल तीन सय पाँच समूहले नाम दर्ता गराएकोमा दुई सय ५६ समूहले प्रतियोगितामा भाग लिएका थिए ।
प्रतियोगिताको निर्णायकमा पुरुषोत्तम न्यौपाने, रीता थापा, सुरेश अधिकारी, सरला पाण्डे, नवराज बराल, विश्वमाया पौडेल थिए ।
Copyright © 2024 | All rights reserved.