जेठ २६, २०८२, आइतबार

कोटीहोममा एकैदिन पाँच लाख भक्तजन, २१ करोड दीप प्रज्ज्वलन


Advertisement Image
clock icon 8 hours, 20 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरामा जारी श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा शनिबार करिब पाँच लाख भक्तजनको सहभागी भएको आयोजकको दावी छ । उक्तजनको सहभागिताले शनिबार ऐतिहासिक दिन भएको आयोजकले उल्लेख गरेको छ ।

प्रचारप्रसार संयोजक लेखराज ढकालले भक्तजनको सहभागिताले कोटिहोम ऐतिहासिक अद्वितीय र अविस्मरणीय बनेको बताए । उनले शनिबार तीन लाख ५० हजार भक्तजन आउने अपेक्षा गरिएकामा करिब डेढ लाख बढी भक्तजन सहभागी भएको बताए ।

उनले भने, ‘हामीले अपेक्षा गरेभन्दा निकै धेरै भक्तजन ओइरिँदा व्यवस्थापनमा केही कठिनाई जस्तो देखिए पनि कसैलाई केही समस्या भएन ।’ उनका अनुसार कोटीहोममा हालसम्म २८ लाख भक्तजन सहभागी भए ।

शनिबार कोटीहोम स्थल पूरै भक्तजनले ढाकिएको थियो । भक्तजनलाई भित्र पस्न र बाहिर निस्कन निकै सकस भएको थियो भने आयोजकलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो । भक्तजन व्यवस्थापन गर्न आयोजकले पछाडिको गेटसमेत खोल्नुपरेको थियो ।

भक्तजनका कारण विरौटाचोकदेखि छोरेपाटनसम्म दिनभर सडक जाम भएको थियो । सवारी व्यवस्थापनमा कोटीहोमका सुरक्षाकर्मी, ट्राफिक प्रहरी खटिएका थिए । भक्तजनकै कारण पृथ्वीचोकदेखि छोरेपाटनसम्मको सडक दिनभर व्यस्त थियो ।

२१ करोड दीप प्रज्ज्वलन

शनिबार निर्जला एकादशीकै दिन २१ करोड दीप प्रज्ज्वलन गरिएको छ । बिहान १० बजे ज्योती भिजाएर साँझ ६ बजे दीप प्रज्वलन गरिएको थियो ।

शनिबार कोटीहोममा आएका प्रायः भक्तजनका हातमा ज्योती देखिन्थ्याे । यति ठूलो दीप प्रज्वलन सम्भवतः हालसम्म कहीँ पनि नभएको आयोजकको दाबी छ ।

Copyright © 2024 | All rights reserved.