असार ०५, २०८२, बिहीबार

यति बिराट कोटीहोम न हिजो भयो, न भोलि हुन्छ : काली बाबा


Advertisement Image
clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । चर्चित धर्मगुरु कालीदास बाबा (काली बाबा) ले पोखरामा आयोजित श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ साँच्चिकै बिराट भएको बताएका छन् । सोमबार कोटीहोममा आयोजित यज्ञको पूर्णाहुतिमा सहभागी हुन आएका कालीबाबाले यस्तो बताएका हुन् ।

‘यति बिराट कोटीहोम न हिजो भयो, न भोलि हुन्छ, त्यो हिम्मत बालयोगेश्वर महाराजले गर्नुभयो’ उनले भने ।

काली बाबाले काेटीहाेमका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजलाई यज्ञ सम्राट र यज्ञ पुरुषको उपमा दिए । उनले थपे, ‘यस्तो बिराट कोटीहोमको संकल्प गर्ने यज्ञ सम्राट, यज्ञ महापुरुषको रूपमा स्थापित हजुरलाई म कोटी कोटी नमन गर्दछु ।’

यज्ञको पूर्णाहुतिकै लागि काली बाबा अमेरिकाबाट दिल्ली हुँदै नेपाल आएको कोटीहोमका सङ्कल्पकर्ता महाराजले जानकारी दिए ।

‘यज्ञको पूर्णाहुति कसबाट गर्ने भन्ने भएको थियो, समय छोटो थियो तर यति लामो यात्रा गरेर यज्ञ पूर्णाहुति गर्न आउनुभयो, यहाँप्रति आभारी छाैँ’, उनले भने, ‘काली बाबाको उपस्थितिले कोटीहोम पवित्र बनेको छ ।’

यज्ञको पूर्णाहुतिसँगै होमन, पाठ परायणका सम्पूर्ण कार्य समापन भएको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । यद्यपि कोटीहोम भने जेठ ३१ सम्म सञ्चालन हुनेछ । उनका अनुसार कोटीहोममा सहभागी चार सय बढी ब्राम्हणलाई सम्मानका साथ सोमबार नै बिदाई गरिएको छ ।

महायज्ञको विधिवत् पूर्णाहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गरिएको थियो । मंगलबारदेखि तिलक र भस्म वितरण गरिने संयोजक ढकालले जानकारी दिए । यज्ञमा राखिएका जलसहितका कलश बुकिङ गरेकाहरुले मंगलबारदेखि नै घरमा लैजान पाउनेछन् ।

हवन कुण्डमा वैशाख १९ गते बिहान ६ बजेर ४५ मिनेटमा विधिवत् रूपमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेश, ७ बजेर १९ मिनेटमा अग्निमा समीधा दान र ८ बजेर ५ मिनेटमा अग्नि कुण्डमा आहुति प्रदान गरी सुरु भएको थियो ।

कुण्डमा तीन, तीन जना ब्राम्हणले हरेक दिन भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका थिए । कोटीहोममा एक सय आठ भागवत महापुराण पाठ परायण, चार वेद पाठ परायण, सप्तचण्डी, अति रुद्री, मन्त्र जपलगायतमा ब्राम्हणले पाठ गरेका थियो ।

भागवत मञ्जरी दासीले कोटीहोममा जेठ १७ देखि श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । उनले जेठ ३१ सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिए । 

पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१  गतेसम्म सञ्चालन हुनेछ ।

Copyright © 2024 | All rights reserved.