0
प्रतिक्रिया
पोखरा । पोखराका सुनचाँदी व्यवसायीले आज पनि सुन पसल बन्द गरेर आन्दोलन गर्ने भएका छन् ।
सुनमा लगाइएको विलासिता कर र हिरामा लगाइएको भ्याट खारेज गर्नुपर्ने मागसहित उनीहरु आन्दोलित बनेका हुन् । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले संयुक्तरुपमा आन्दोलन गरेका हुन् ।
आन्दोलनअन्तर्गत आज पोखराको सभागृहचोकबाट र्याली प्रदर्शन गरी चिप्लेढुंगामा पुगेर कोणसभा गर्ने तयारी भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीका सचिव सुरेन्द्र विकले जानकारी दिए ।
कार्यक्रम बिहान ११ बजे भनिए पनि पोखरामा वर्षा भइरहेकाले अनुकुलतामा कार्यक्रम गरिने उनले बताए ।
सरकारले सुनमा लगाइएको विलासिता कर र हिरामा लगाइएको भ्याट खारेज नगरेसम्म आन्दोलन नरोकिने उनले चेतावनी दिए ।
सरकारको यो नीतिले आफूहरुको व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको विकले बताए ।
व्यवसायीले बिहीबार पनि पसल बन्द गरेर आन्दोलन गरेका थिए । बिहीबार उनीहरुले उनीहरुले जिल्ला प्रशासन कार्यालय कास्कीको अगाडि नाराबाजी गर्दै प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्र पठाएका थिए ।
अहिले सरकारले सुनमा दुई प्रतिशत विलासिताको कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेको छ ।
व्यवसायीले सुनचाँदी कारोबारको लागि व्यवसयीमैत्री एवं उपभक्तामुखी प्रष्ट नीति, नियमावली र निर्देशिका निर्माण गर्न माग गरेका छन् ।
सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले व्यवसाय थप संकटमा परेको आन्दोलित व्यवसायीको भनाइ छ ।
सरकारले लगाएको यो कर निकै अव्यवहारिक रहेको र उपभोक्ताको हित विपरीत भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारले बताए ।
Copyright © 2024 | All rights reserved.