0
प्रतिक्रिया
पोखरा । पोखरामा विक्री गर्न ल्याइएका करिब एक किलो अवैध सुनसहित दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य योजनाकार भारत पञ्जावका ४९ वर्षका कुलदीप सिंह र सहयोगी तिलोत्तमा नगरपालिका वडा नं १६ पूर्वबहियाका ४७ वर्षीय रामबहादुर विक छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रहरी उपरीक्षक प्रमुख श्यामबाबु ओलियाका अनुसार पक्राउ परेका व्यक्तिहरुको साथबाट सुनको ढिक्का, हिरा जडित औंठी, मंगलसूत्र, सिक्रीलगायत गरी ८२ तोला १६ लाल सुन बरामद गरिएको हो । बरामद सुन एक करोड ३० लाख ४१ हजार रुपैयाँ बराबरको छ ।
उक्त सुन भारतबाटै ल्याइएको पाइएको एसपी ओलियाले जानकारी दिए । प्रहरीका अनुसार उक्त सुन पोखराका व्यापारीले खरिद गर्न नमानेपछि बुटवल लैजाने क्रममा पोखरा-२२ पुम्दीभुम्दीबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
एसपी ओलियाका अनुसार अवैध सुन पोखरा भित्रिएको सूचना प्राप्त गर्ने बित्तिकै प्रहरीले निगरानी बढाएको थियो । पोखरा-२२ पुम्दीभुम्दीमा गाडी खानतलासी गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
भारतीय नागरिक सिंहले फेसबुकमार्फत विकसँग सम्बन्ध बढाएका थिए र उनको सहयोगमा सुन र हिराका गरगहना बेच्न उनी पोखरा आएका हुन् । आफूले केही रकम पाउने आशाले सिंहलाई सहयोग गरेको प्रहरीसँगको बयानमा विकले बताएका छन् ।
पक्राउ परेका दुबैलाई थप अनुसन्धानका लागि गरगहनासहित राजश्व अनुसन्धान कार्यालय काठमाडौं पठाइने प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.