असार ११, २०८२, बुधबार

गिरिजाबाबुको १०१औँ जन्मजयन्तीमा विचार गोष्ठी हुने


Advertisement Image
clock icon 6 hours, 32 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला (गिरिजाबाबु) को १०१औँ जन्मजयन्तीका अवसरमा ‘शान्ति र गणतन्त्र स्थापनामा गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठी हुने भएको छ ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशन पोखरा महानगर समितिले गोष्ठी आयोजना गरेको हो । कार्यक्रम यही असार २१ गते पोखरामा हुनेछ । कार्यक्रममा प्रमुख वक्ताकारुपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री महेश आचार्य सहभागी हुँदैछन् ।

साथै गण्डकी प्रदेशका मुख्यमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे प्रमुख अतिथिका रुपमा सहभागी हुने फाउण्डेशनका सचिव भरतराज पौडेलले जानकारी दिए । कार्यक्रम भव्य बनाउनका लागि कास्कीका तीन वटै क्षेत्रका विभिन्न व्यक्तित्वलाई जिम्मेवारी दिइएको उनले बताए ।

फाउण्डेशनका गण्डकी प्रदेश संयोजक, संविधानसभा सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य शारदा पौडेलका अनुसार कार्यक्रमको तयारी तीव्र भइरहेको छ ।

कोइराला नेपालको राजनीतिमा एक अत्यन्तै महत्वपूर्ण र ऐतिहासिक व्यक्तित्व भएको भन्दै पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया, र गणतन्त्र स्थापनामा खेलेको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताइन् ।

१० वर्ष लामो माओवादी सशस्त्र द्वन्द्व (जनयुद्ध) अन्त्य गर्न कोइरालाको नेतृत्व निर्णायक रहेको थियो । २०६३ सालमा उनले नेपाली कांग्रेस, अन्य सात दल, र माओवादीबीच १२ बुँदे सम्झौताको नेतृत्व गरे, जसले द्वन्द्व अन्त्यको मार्ग प्रशस्त गरेको थियो । कोइरालाले माओवादी नेताहरूसँग विश्वास र संवादको वातावरण निर्माण गर्दै विशेषगरी माओवादी नेता पुष्पकमल दाहाल (प्रचण्ड) सँगको सहकार्यले शान्ति प्रक्रियालाई गति दिएका थिए ।

शान्ति सम्झौपछिको संक्रमणकालीन चरणमा संविधानसभा निर्वाचन गराउन कोइरालाले सरकारको नेतृत्व गरे भने नयाँ राजनीतिक संरचना निर्माणको आधार तयार गरे ।

२०६३ सालको जनआन्दोलन (जनआन्दोलन द्वितीय) पछि उनले राजा ज्ञानेन्द्रबाट सत्ता फिर्ता गराउन निर्णायक भूमिका खेलेका कोइरालाले त्यो आन्दोलनको नेतृत्व गर्दै उनले पूर्ण लोकतन्त्र र गणतन्त्रको बाटो खोलिदिएका थिए।

आन्दोलनपछिको संक्रमणकालीन सरकारको प्रधानमन्त्री बनेर उनले संसद पुनस्र्थापना गरे भने राजसंस्थालाई हटाउने प्रस्ताव पारित गराए र अन्ततः गणतन्त्र स्थापना गरे । साथै राजनीतिक दलहरूबीच सहमति कायम गर्न, शान्ति सम्झौताबाट संविधान निर्माणसम्म उनी एकजुटताको प्रतीक बन्न सफल भए ।

कोइरालाको योगदान शान्ति स्थापना, लोकतन्त्रको पुनःस्थापना र गणतन्त्र स्थापनामा अतुलनीय छ । उनले सशस्त्र संघर्षलाई वार्तामार्फत लोकतान्त्रिक प्रक्रियामा रूपान्तरण गर्न सककै कारण उनलाई “शान्तिका शिल्पी” वा “गणतन्त्रका संस्थापक” भन्ने गरिन्छ ।

Copyright © 2024 | All rights reserved.