असार २२, २०८२, आइतबार

‘गिरिजाबाबु जस्तो आँट, विश्वास र भरोसा भएको नेताको आज पनि आवश्यकता’


Advertisement Image
clock icon 9 hours, 51 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली काङ्ग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२औं जन्मोत्सवका अवसरमा पोखरामा ‘शान्ति र गणतन्त्र स्थापनामा गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ । 

गिरिजाप्रसाद कोइराला फाउन्डेसन पोखरा महानगर समिति कास्कीद्वारा आयोजित गोठी उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गिरिजाप्रसाद कोइरालालाई ‘जे बोल्ने त्यही गर्ने’ हक्की स्वभावका नेताका रुपमा स्मरण गरे ।

गिरिजाबाबु जस्तो आँट, विश्वास र भरोसा भएको नेताको खाँचो आजको राजनीतिमा आवश्यक रहेको उनले बताए । हिजो पार्टीले गरेको सकारात्मक कामको प्रचार गर्दै जनमत सिर्जना गर्नुपर्नेमा मुख्यमन्त्रीको जोड थियो । 

आफू नेतृत्वको गण्डकी प्रदेश सरकारले केही महत्वपूर्ण काम गरे पनि त्यसको उचित प्रचारप्रसार हुन नसकेको उनको गुनासो थियो ।

स्वास्थ्य क्षेत्र, पूर्वाधार विकासमा गण्डकी प्रदेशले निकै फड्को मारेको दावी गर्दै उनले राइड एण्ड शेयरिङ पनि कार्यान्वयन हुने जिकिर गरे । 

पूर्वअर्थमन्त्री महेश आचार्य जनतासँगको प्रत्यक्ष सम्बन्ध, जनतालाई भेटेर पीडा एकीकृत गर्ने शैली र ती पीडालाई नीति तथा कार्यक्रममार्फत बनाउने र यसरी बनाएको नीति कार्यक्रम कार्यान्वयन गर्ने कुरा गिरिजाबाबुबाट सबै नेताले सिक्नुपर्ने बताए ।

पार्टी र सङ्गठन निर्माण तथा सञ्चालनका लागि के कुरा लिन सकिन्छ भन्ने कुरा गिरिजाप्रसादबाबुको जीवनबाट जान्न सकिने भन्दै उनले अहिले नेपालमा सर्वस्वीकार्य र प्रभावशाली नेताको आवश्यकता भएको बताए । सर्वमान्य सिद्धान्त र सङ्गठनको संरचना नेपाली राजनीतिमा आवश्यक रहेको उनको भनाई थियो ।

नेता आचार्यले गिरिजाबाबु क्रान्ति र शान्तिको नेता भएको बताए । उनले भने, “मैले गिरिजाप्रसाद कोइरालाका बारेमा एकै शब्दमा भन्नुपर्दा उहाँ क्रान्तिको पनि नेता हो, शान्तिको पनि नेता हो ।”

राजनीतिको दिशा बदल्ने सामथ्र्य राखेर गिरिजाप्रसादले लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्ने, शान्ति प्रक्रियालाई अगाडि बढाउने र गणतन्त्र स्थापन गर्ने पछिल्लो कालखण्डको महत्वपूर्ण तीन राजनीतिक परिघटनालाई नेतृत्व लिएको उनले स्पष्ट पारे ।

जीवनको उत्तराद्र्धमा गिरिजाबाबु नेताबाट राजनेताको स्थान प्राप्त गर्न सफल हुनुभयोे जो, हामी सबैका लागि सधैँ प्रेरणाको स्रोत रहिरहेको उनकाे भनाइ थियो ।

उनले आफ्नो निर्णयमा जस्तोसुकै जोखिम मोल्ने आँट राख्ने कोइरालामा आत्मविश्वास अजेय भएको बताउँदै भने, “त्यसैले उहाँ निरन्तर लोकतन्त्रको लडाइँमा लागिरहनुभयो । काममा नथाक्ने र साथीहरूलाई अगाडि बढ्न प्रेरित गर्ने उहाँको बानी थियो । अप्ठ्यारोमा पनि उहाँभित्रको लोकतन्त्रको दियो कहिल्यै निभेन ।”

शान्ति, स्थायित्व, मेलमिलाप, सहकार्य, सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित हाम्रा स्रोत, साधनको समुचित उपयोगबाट मात्र हामीले राखेको मुलुकको समृद्धिको लक्ष्य पूरा हुने आचार्यले बताए ।

उनले भने, “जनता आफैँले बनाएको संविधान हामीले पाएका छौँ, जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रले राखेको अभिष्ट हो, शान्ति, स्थायित्व, मेलमिलाप, सहकार्य, सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित हाम्रा स्रोत, साधनको समुचित उपयोगबाट मात्र यो लक्ष्य पूरा हुन्छ ।”

उनले आर्थिक विकासको मोडेलमा दार्शनिक मतभिन्नता रहँदारहँदै पनि पुँजीवादी र कम्युनिष्ट चिन्तनबीच मध्यमार्गी धार समाएर गिरिजाप्रसदको कार्यकालमा आर्थिक विकासको मोडेलले संसारभर विभिन्न नकारात्मक आर्थिक झड्का आउँदा पनि नेपालको अर्थतन्त्र केही हदसम्म जोगिएको बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं फाण्डेशनका गण्डकी प्रदेश संयोजक शारदा पौडेलले कोइराला नेपालको राजनीतिमा एक अत्यन्तै महत्वपूर्ण र ऐतिहासिक व्यक्तित्व भएको भन्दै नेपालको लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया, र गणतन्त्र स्थापनामा खेलेको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताइन् ।

फाउन्डेसन कास्कीका संस्थापक सभापति यादवराज अधिकारीले पोखरा-१८ मा गिरिजाप्रसादको पूर्णकदको सालिक निर्माण गर्न लागिएको बताए ।

फाउन्डेसनको जिल्ला शाखालाई पुनर्गठन गरेर गतिशील बनाउने योजनाका साथ अगाडि बढेको उनले बताए । कार्यक्रममा बसन्त चालिसेले गिरिजाप्रसाद कोइरालाको बारेमा कविता सुनाएका थिए ।

गोष्ठीमा नेपाली काङ्ग्रेस गण्डकी प्रदेश समिति उपसभापति मेखलाल श्रेष्ठ, पूर्वमन्त्री यज्ञबहादुर थापा, नेपाली काङ्ग्रेस कास्कीका सभापति किशोरदत्त बराल, पूर्वसभापति कृष्णबहादुर केसी, नेता देवराज चालिसे, गण्डकी प्रदेशसभामा नेपाली काङ्ग्रेस संसदीय दलको सचेतक प्रकाश बराल, फाउन्डेसन गण्डकी महासचिव नरेन्द्र कंडेल, कास्की संयोजक विजयराज आचार्य, गणेशमान फाउन्डेसन गण्डकी सभापति दुर्गा सुवेदी, नेपाल महिला सङ्घ कास्की सभापति मीना पाण्डे, नेपाली लेखक सङ्घ कास्कीका संस्थापक अध्यक्ष डा. लक्ष्मीशरण अधिकारीलगायतले बोलेका थिए । 

फाउन्डेसन पोखरा महानगर समिति सभापति प्रेमप्रसाद कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा राजेन्द्रनिधि कोइरालाले स्वागत र पोखरा महानगर समिति सचिव भरतराज पौडेलले सञ्चालन गरेका थिए ।

दश वर्ष लामो माओवादी सशस्त्र द्वन्द्व (जनयुद्ध) अन्त्य गर्न कोइरालाको नेतृत्व निर्णायक रहेको थियो । २०६३ सालमा उनले नेपाली कांग्रेस, अन्य सात दल, र माओवादीबीच १२ बुँदे सम्झौताको नेतृत्व गरे, जसले द्वन्द्व अन्त्यको मार्ग प्रशस्त गरेको थियो । 

कोइरालाले माओवादी नेताहरूसँग विश्वास र संवादको वातावरण निर्माण गर्दै विशेषगरी माओवादी नेता पुष्पकमल दाहाल (प्रचण्ड) सँगको सहकार्यले शान्ति प्रक्रियालाई गति दिएका थिए ।

शान्ति सम्झौपछिको संक्रमणकालीन चरणमा संविधानसभा निर्वाचन गराउन कोइरालाले सरकारको नेतृत्व गरे भने नयाँ राजनीतिक संरचना निर्माणको आधार तयार गरे ।

२०६३ सालको जनआन्दोलन (जनआन्दोलन द्वितीय) पछि उनले राजा ज्ञानेन्द्रबाट सत्ता फिर्ता गराउन निर्णायक भूमिका खेलेका कोइरालाले त्यो आन्दोलनको नेतृत्व गर्दै उनले पूर्ण लोकतन्त्र र गणतन्त्रको बाटो खोलिदिएका थिए।

आन्दोलनपछिको संक्रमणकालीन सरकारको प्रधानमन्त्री बनेर उनले संसद पुनस्र्थापना गरे भने राजसंस्थालाई हटाउने प्रस्ताव पारित गराए र अन्ततः गणतन्त्र स्थापना गरे । साथै राजनीतिक दलहरूबीच सहमति कायम गर्न, शान्ति सम्झौताबाट संविधान निर्माणसम्म उनी एकजुटताको प्रतीक बन्न सफल भए ।

कोइरालाको योगदान शान्ति स्थापना, लोकतन्त्रको पुनःस्थापना र गणतन्त्र स्थापनामा अतुलनीय छ । उनले सशस्त्र संघर्षलाई वार्तामार्फत लोकतान्त्रिक प्रक्रियामा रूपान्तरण गर्न सककै कारण उनलाई “शान्तिका शिल्पी” वा “गणतन्त्रका संस्थापक” भन्ने गरिन्छ ।

Copyright © 2024 | All rights reserved.