0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं १२ ले आयोजना गरेको चालू आर्थिक वर्ष २०८१।०८२ को सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । वडा कार्यालयले प्रदान गर्ने सेवा प्रवाह र विकास निर्माणका विषयमा जानकारी दिने र सेवाग्राहीबाट सुझाव लिन कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा वडाभित्र भएका विकास निर्माणका कामको सबैले प्रशंसा गरेका छन् । तर सेवा प्रवाहका विषयमा भने केही गुनासो नागरिकहरुले गरेका छन् । उनीहरुले शिक्षा, स्वास्थ्य, पूर्वाधार, युवा परिचालन र सामाजिक विकृति नियन्त्रणजस्ता विषयमा प्रश्न उठाएका थिए ।
सहभागीले जीर्ण बनेका काठका पोल विस्थापन, हस्पिटल चोकदेखि माछापोखरीसम्म फुटपाथ निर्माण र सरस्वती स्कुल चोकमा बढ्दो दुर्घटना जोखिम न्यूनीकरण गर्न पनि माग गरे ।
सहभागीले वडाभित्रका स्कुलबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र अभिभावकलाई सम्मान गर्न र विद्यालय वरपर सुर्तीजन्य पदार्थ बिक्रीमा कडाइ गर्न आग्रह गरे ।
शीतलादेवी युवा क्लबका पूर्व अध्यक्ष सुरज श्रेष्ठले खेलकुदका लागि टुक्रे बजेटभन्दा दीर्घकालीन योजना बनाउन आग्रह गरे ।
शीतलादेवी सामुदायिक विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारी र पुष्पसदन एकेडेमीका प्राचार्य भीम न्यौपानेले शिक्षाको गुणस्तर बढाउन सफ्टवेयर (तालिम, संस्कार) मा लगानी बढाउन सुझाए ।
डा. कृष्णप्रसाद पौडेलले अमरसिंह माविको चौरमा हुने राजनीतिक कार्यक्रम र सेती नहरमा बढ्दो प्रदूषण नियन्त्रणबारे वडाको ध्यानाकर्षण गराए ।
नेकपा माओवादीका अध्यक्ष श्रीकान्त अधिकारीले योजनाहरुमा देखिने बेरुजुको कारण खोजे । उनले अमरसिंह मावि अगाडिको टहरा विवादबारे पनि प्रश्न उठाएका थिए ।
स्थानीय अनिता पोख्रेलले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रम बनाउन वडासँग आग्रह गरेकी छिन् । उनले पार्कहरूमा बढ्दो विकृति नियन्त्रण गर्न सुझाव दिइन् ।
प्रश्न र गुनासामा जवाफ दिँदै वडाध्यक्ष सन्तोष बास्तोलाले नागरिकका सुझावलाई आत्मसात् गर्दै आगामी दिनमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले बेरुजुको समस्या सरकारी र बजार दररेटको भिन्नताले आएको जानकारी दिए । तर वडामा बेरुजुको मात्रा न्यून रहेको उनको भनाई छ ।
अमरसिंह स्कुलको टहरा विवाद छिटै समाधान हुने उनले सुनाए । बास्तोलाले युवा क्लब र महिला समूहले ठोस योजना ल्याएमा बजेट अभाव नहुने स्पष्ट पारे ।
कार्यक्रममा धेरै सहभागीले सामुदायिक कुकुरको नियन्त्रणमा वडाको ध्यानाकर्षण गराएका थिए । जवाफमा वडाध्यक्ष बास्तोलाले ‘डग होस्टेल’को अवधारणा अघि बढाइएको बताए ।
वडामा आइटी पढ्ने विद्यार्थीलाई निःशुल्क इन्टरनेट र सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका परिवारलाई निःशुल्क स्वास्थ्य बिमा जस्ता कार्यक्रम वडाले सञ्चालन गरेको बास्तोलको भनाई छ ।
उनले विकास निर्माण र सेवा प्रवाहमा सबैलाई समान व्यवहार गरिएको र कुनै पनि काम तथ्य र तथ्यांकमा आधारित भएरै हुने गरेको दाबी गरे ।
कार्यक्रममा वडा सचिव शारदा सापकोटाले चालू वर्षमा वडाको प्रगति विवरण प्रस्तुत गरेकी थिइन् । पोखरा १२ले चालू वर्षमा कुल ३ करोड ३ लाख ५८ हजारको बजेट कार्यान्वयन गरेको छ ।
Copyright © 2024 | All rights reserved.