असार २५, २०८२, बुधबार

गण्डकी प्रदेशका केही स्थानमा आज पनि भारी वर्षा हुने


Advertisement Image
clock icon 8 hours, 3 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले गण्डकी प्रदेशको राजधानी पोखरामा मंगलबारदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षा मध्यम रहेको छ । 

आज पनि गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि आज भारी वर्षा हुने बताइको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार गण्डकी, बाग्मती र लुम्बिनीलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै, उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि छ ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थान तथा अन्य प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

गण्डकी, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताएको छ । साथै, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।

Copyright © 2024 | All rights reserved.