असार २५, २०८२, बुधबार

प्रधानमन्त्रीसँग गण्डकीसहित पाँच प्रदेश प्रमुखको भेटवार्ता


Advertisement Image
clock icon 8 hours, 15 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसहित पाँच प्रदेश प्रमुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । काठमाडौँमा उपलब्ध पाँच प्रदेश प्रमुखले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार राति प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।  

भेटमा संघीयताको कार्यान्वयन, प्रदेश सरकारको कामकारबाही तथा संघ र प्रदेश सरकारको समन्वयका विषयमा छलफल भएको थियो । उनीहरूबीच आआफ्नो प्रदेशको अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीसँग भेट गर्न पाँच प्रदेशका प्रदेश प्रमुख सोमबार अबेर बालुवाटार पुगेका थिए । भेटमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, कोशीका परशुराम खापुङ, मधेशमा सुमित्रा सुवेदी भण्डारी, बागमतीमा दीपकप्रसाद देवकोटा र सुदूरपश्चिमका नजिर मियाँ सहभागी थिए । 

कोशी र कर्णालीका प्रदेश प्रमुख असार १८ गते राष्ट्रपतिसँग भेटपछि काम विशेषले आफ्नो प्रदेश फिर्ता भएकाले उपस्थित हुन नसकेको बताइनछ । 

प्रदेश प्रमुख प्रदेशको प्रमुखमात्र नभई केन्द्रको प्रतिनिधि पनि भएकाले संघ र प्रदेशबीचको समन्वयकर्ता रहेको प्रधानमन्त्रीले बताए । 

प्रधानमन्त्रीले पछिल्लो समय संघीयता र त्यसमाथि पनि प्रदेश संरचनाको आलोचना भएको उल्लेख गर्दै संघीयतालाई बलियो र प्रभावकारी बनाउनुपर्ने बताए ।
 
प्रधानमन्त्रीसँगको भेटमा प्रदेश प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा सात वटै प्रदेशका प्रमुखहरु शितलनिवास पुगी भेटवार्ता र छलफल गरेको जानकारी गराए ।

प्रदेश प्रमुखहरूले आफ्नो कार्यक्षेत्रका सामाजिक, राजनीतिक तथा आर्थिक अवस्थाबारे साझा अवधारणा बनाई प्रधानमन्त्री समक्ष प्रतिवेदन हस्तान्तरण गरेका थिए । 

प्रदेश प्रमुखहरूले आफूले भोग्नुपरेका कठिनाइ, कानून तथा नियममा रहेका अन्यौलहरूको बारेमा जानकारी गराउँदै यसको समाधानका लागि प्रधानमन्त्रीसमक्ष अनुरोध गरेका  थिए ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रधानमन्त्रीसँगको भेटमा मुख्यतः संघीयताको प्रभावकारी कार्यान्वयनको विषयमा छलफल भएको जानकारी दिए । उक्त अवसरमा प्रदेश प्रमुखहरूले प्रधानमन्त्रीसँग नियमित सम्पर्क र समन्वयका लागि आग्रह पनि गरेका थिए ।

प्रधानमन्त्रीले संघीयताको प्रभावकारी कार्यान्वयन, यसमा देखिएका समस्या र समाधानका उपायबारे सबै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूलाई बोलाएर छलफल गर्ने बताए ।

उक्त अवसरमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले आफ्ना प्रदेश कार्यालयबाट प्रकाशित बुलेटिन प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।

Copyright © 2024 | All rights reserved.