0
प्रतिक्रिया
पोखरा । पोखरा-९ स्थित सहारा बाल आधारभूत विद्यालयमा स्थापित विज्ञान प्रयोगशाला शुभारम्भ भएकाे छ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले विज्ञान प्रयोगशाला शुभारम्भ गरेका हुन्। कार्यक्रममा मन्त्री थापाले विज्ञान प्रयोगशाला बालबालिकाको उज्यालो भविष्य निर्माणका लागि महत्वपूर्ण हुने बताए ।
मन्त्री थापाले भने, “हामीले चाहेको परिवर्तन यस्ता विद्यालयमै हुन्छ, जहाँ विज्ञान पढिन्छ, प्रयोग गरिन्छ र बालबालिकाले भविष्य कोर्छन्।”
उनले शिक्षा क्षेत्रमा प्रदेश सरकारको प्राथमिकता अनुसार सार्वजनिक-निजी साझेदारीमार्फत आवश्यक प्रविधि, पूर्वाधार र अवसरलाई अगाडि बढाइने बताए ।
“एक पुस्ताको शिक्षा सुधार्न सके अर्काे पुस्ताको भविष्य स्वतः उज्यालो हुन्छ”, मन्त्री थापाले थपे, “विद्यालयमा प्रयोगशाला, प्रविधि र सशक्त शिक्षक हुनु नै समावेशी र गुणस्तरीय शिक्षाको आधार हो।”
प्रदेश सरकारले २०८२/०८३ को बजेटमा समेत उक्त विद्यालयका लागि बजेट विनियोजन गरेको उनले बताए ।
पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले विद्यालयको स्तरोन्नतिका लागि प्रदेश सरकारसँग स्थानीय तह मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सहारा बाल आधारभूत विद्यालयको भौतिकदेखि शैक्षिक सुधारमा आफू सधैँ साथमा रहेको उनले स्पस्ट पारे ।
पोखरा महानगरपालिकाका शिक्षा अधिकृत जीवनप्रसाद रेग्मीले महानगरपालिकाले शिक्षा क्षेत्रमा लगानी गरी यसको गुणस्तरीयतामा ध्यान दिएको जनाए । पोखरा महानगरपालिका भित्र रहेका विद्यालयको अनुगमन गरी आवश्यकता अनुसार सुधार गर्दै जाने उनले बताए ।
विद्यालय संचालक समिति अध्यक्ष विक्रम थकालीले विद्यालयका लागि सौजन्य गरेका दातालाई धन्यवाद दिँदै विद्यालयलाई प्रविधिमैत्री वातावरणमा शिक्षणविधि अप्नाउन सहयोग सामाग्रीले सहायता मिल्ने विश्वास व्यक्त गरे ।
प्रदेश सरकार आएको आठ वर्षमा पहिलो पटक विद्यालयका लागि रातो किताबमा नै बजेट विनियोजन हुनु सकारात्मक पक्ष रहेको उनले बताए।
विद्यालयका विषयमा जानकारी गराउँदै प्रधानाध्यापक लोचना अधिकारीले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको शैक्षिक स्तरमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन् । विद्यालयको स्तरोन्नतिका लागि शैक्षिक क्षेत्रको सुधारमा ध्यान पुर्याइएको अभिव्यक्ति उनको छ ।
उक्त अवसरमा विभिन्न दाताको सहयोगमा प्राप्त प्रोजेक्टर, साउन्ड सिस्टम र फर्निचर सामग्री स्तान्तरण गरिएको थियाे भने कार्यक्रममा सहयोग गर्ने दातालाई सम्मान गरिएको थियो ।
Copyright © 2024 | All rights reserved.