0
प्रतिक्रिया
पोखरा । पोखरास्थित फेवातालको सीमाङ्कनका क्रममा हालसम्म सात सय ५० सीमास्तम्भ गाडिएका छन् ।
महानगरले तालको किनारमा एक हजार ५५ सीमास्तम्भ गाड्ने योजना बनाएकामा हालसम्म सात सय ५० गाडिएको पोखरा महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए ।
सर्वोच्च अदालतको फैसला बमोजिम पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल सरकारको संयुक्त पहलमा गत जेठ १७ देखि फेवातालको किनारमा सीमास्तम्भ गाड्न सुरु गरिएको थियो ।
महानगर प्रमुख आचार्यले सर्वोच्च अदालतको आदेशानुसार महानगरपालिकाले सम्बद्ध निकायसँग आवश्यक समन्वय गरी ताल घरमा सीमा स्तम्भ गाड्ने र सीमांकनको काम गरिरहेको छ ।
ताल घरमा सीमास्तम्भ गाड्ने कार्यमा सर्वेक्षक, प्राविधिक, नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।
महानगर प्रमुख आचार्यले सीमाङ्कनको काम सम्पन्न भएपछि तालको सौन्दर्यकरण गरिने बताए । उनले सबैको साथ र सहयोगबाट तालघरमा सीमा स्तम्भ गाड्ने कामको अन्तिम चरणमा पुगेको बताए ।
यसमा सबैको योगदान अतुलनीय रहेको उनले बताए । पोखराको गहनाका रुपमा रहेको फेवातालको संरक्षण गर्दै यसलाई सौन्दर्यकरण गर्नका लागि महानगर प्रतिबद्ध रहेको उनको भनाइ छ ।
पछिल्लो अध्ययनअनुसार तालको क्षेत्रफल ६दशमलव३४३ वर्ग किलोमिटर (१२ हजार ४६८ रोपनी तीन पैसा तीन दाम) कायम भएको छ । फेवा तालको सीमाङ्कका लागि अत्याधुनिक डिजिपीएस प्रविधि र ड्रोन सर्भेको प्रयोग गरिएको थियो ।
फेवातालको चार किल्लामा पिल्लर गाडेपछि पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन ऐतिहासिक महत्तव राख्ने विश्वास गरिएको महानगर प्रमुख आचार्यले बताए ।
सर्वोच्चले विसं २०८० असार ४ गते फेवाताल किनारदेखि ६५ मिटरसम्मका सबै संरचना हटाउन सरकार, प्रदेश सरकार र पोखरा महानगरपालिकाको नाममा उत्प्रेषणयुक्त परमादेश जारी गरेको थियो ।
वर्षायामको उच्चतम पानीको विन्दुदेखि ६५ मिटरसम्मको क्षेत्रलाई मध्यवर्ती हरियाली क्षेत्र घोषणा गरेर सबै अस्थायी र स्थायी संरचना हटाउन आदेश गरिएको थियो ।
Copyright © 2024 | All rights reserved.