0
प्रतिक्रिया
पोखरा । पोखरा विश्वविद्यालयको २५औँ साधारणसभाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब ५४ करोडको बजेट पारित गरेको छ ।
प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको साधारणसभाले नयाँ बजेट, नीति तथा कार्यक्रम समेत पारित गरेको सभा सदस्य एवं पोखरा महानगरका नगर प्रमुख धनराज आचार्यले जानकारी दिए ।
साधारणसभाले विश्वविद्यालयको शिक्षक कर्मचारीसम्बन्धी नियमावली, २०५५ र आर्थिक नियमावली, २०५५ सेवा आयोग र पुनरावेदन समितिसम्बन्धी नियमावली, २०५७ सहित विभिन्न नियमावलीमा संशोधन प्रस्ताव पारित गरेको उनले बताए ।
बैठकमा कुलपति ओलीले विश्वविद्यालयलाई अनुसन्धानमूूलक र प्रतिस्पर्धी रुपमा सञ्चालन गर्न आग्रह गरेका थिए । साथै उनले स्वदेशमै उत्कृष्ट उच्च शिक्षा सम्भव छ भन्ने भावनालाई सार्थक तुल्याउनुपर्नेमा जोड दिए ।
विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले २१औँ शताब्दीका लागि आवश्यक पर्ने जनशक्ति उत्पादनमा लाग्न आग्रह गरे ।
उपकुलपति प्राडा वेदराज केसीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपलब्ध स्रोत साधनको उपयोग गरी विश्व बजारको माग अनुसारको शिक्षा दिन विश्वविद्यालयले भरमग्दुर प्रयास गर्ने प्रतिवद्धता जनाए ।
सभा सदस्यसमेत रहेको मेयर आचार्यले गुणस्तरीय शिक्षाको सुदृढीकरण र नवाचारमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विश्वविद्यालयको पहिचान उजागर हुनुपर्ने बताए ।
विश्वविद्यालयमा चार सङ्कायअन्तर्गत चार आङ्गिक महाविद्यालय, तीन संयुक्त आङ्गिक महाविद्यालय र ५८ वटा सम्बन्धनप्राप्त महाविद्यालयमार्फत ६८ शैक्षिक कार्यक्रम सञ्चालन छन् । विश्वविद्यालयमा ३४ हजार छ सय ७९ विद्यार्थी अध्ययनरत छन् ।
Copyright © 2024 | All rights reserved.