साउन ०४, २०८२, शनिबार

कांग्रेसको इतर समूहले अनुशासन समितिको निर्णय नमान्ने


clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिका सदस्य सञ्जयकुमार गौतमले आफूहरुलाई समितिको निर्णय मान्य नरहेको बताएका छन् । 

नेता डा. शेखर कोइरालाले सम्पर्क कार्यालय बालुवाटारमा भएको छलफलपछि गौतमले समितिले बहुमतले नेतालाई कारवाही गरेको बताए ।

आफ्नो समूहका नेता कार्यकर्तालाई कारबाही गरेको भन्दै डा. कोइरालाले आफ्नो समूहका नेताहरुलाई छलफल गरेका छन् ।

छलफलमा पार्टीको विधान अनुसार कारवाही नभएको ठहर गरिएको छ । समितिका सदस्य गौतमले विधान अनुसार उजुरी परेको ६ महिना भित्र कारवाही हुनुपर्नेमा सो अनुसार नभएको जिकिर गरे । उनले अब केन्द्रीय समितिमा अपिल गर्ने र यो समितिको निर्णयलाई मान्न आवश्यक नरहेको बताए ।

साथै कोइराला पक्षका नेताहरूले यो गठबन्धनको समेत कुरा भएको तथा पार्टीको महाधिवेशन र ८४ को निर्वाचनलाई आधार बनाएर अहिले कारवाही गरिएको जिकिर गरेका छन् ।

कांग्रेसको अनुशासन समितिले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै १८ जना नेतालाई कारवाही गरेको थियो ।

अनुशासन समितिले तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा, कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्लाका सभापति विष्णुकमार राई र पर्सा जिल्ला-१ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई एक बर्षको लागि निलम्बन गरेको छ । 

त्यस्तै धनुषा जिल्ला लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादव, धनुषा जिल्ला सबैला नगरपालिकाका नगर सभापति खटरु यादव, धनुषाधाम नगरपालिका-१ का रामबावु यादव, मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव, कास्की जिल्ला–२ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, कैलालीको धनगढी उपमहानगरपालिका-२ का महाधिवेशन प्रतिनिधि भीमबहादुर शाह, कैलालीका निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवर, धनगढी उपमहनगरपालिका-१ का पूर्वमहासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिका-२ का क्षेत्रीय प्रतिनिधि रवीन्द्रप्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझा, धनगढी उपमहानगरपालिका-१ का क्रियाशील सदस्य सुभास चन्द र धनगढी उपमहानगरपालिका-५ का पूर्वमहाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरीलाई ६ महिनाका लागि तथा कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीलाई ३ महिनाका लागि निलम्बन गरिएको छ ।

कांग्रेसको अनुशासन समितिको संयोजकमा आनन्द ढुंगाना रहेका छन् भने सदस्यमा ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइराला छन् ।

Copyright © 2024 | All rights reserved.