0
प्रतिक्रिया
पाेखरा। मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको जनाएको छ ।
हाल देशका पहाडी भूभाग साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ भने देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
यस्तै देशको उच्च-पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा-हिमपातको सम्भावना छ ।
आगामी २४ घण्टा सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरेको छ ।
Copyright © 2024 | All rights reserved.