असार २९, २०८२, आइतबार

उच्च मनोवलका साथ जनतामा जानुपर्छः नेता सिटौला


clock icon 8 hours, 11 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले उच्च मनोवलका साथ उत्साह लिएर जनतामा जानुपर्ने बताएका छन् । उनले मुलुकमा केही भएन, वर्वाद भो भन्दै खाली निराशाका कुरा मात्र गरेर जनतालाई भ्रमित नबनाउन आग्रह गरे । 

नेपाली कांग्रेस गण्डकी प्रदेशले आयोजना गरेको ‘वर्तमान अवस्था र नेपाली कांग्रेसको जिम्मेवारी’ विषयक अन्तरक्रियालाई संवोधन गर्दै नेता सिटौलाले एक नीति, एक विचार, एक सिद्धान्त बोकेर जनताको हितमा काम गर्न जनताकै माँझमा जानुपर्नेमा जोड दिए । 

जनताको सुरक्षा गर्ने पार्टी कांग्रेस नै भएकाले ज्यादै निराशाका कुरा गर्न नहुने भन्दै उनले भने, “मुलुकमा केही भएन भन्नु भन्दा पनि जे भएको छ राम्रो भएका छ भन्नुपर्छ ।’

राजाको शासन, माओवादी द्वन्द्वका बीचबाट मुलुक अघि बढेको भन्दै नेता सिटौलाले अहिले मुलुक जुन अवस्थामा आएको छ त्यो सन्तोषजनक रहेको बताए । उनले थपे, “तर धेरै भयो, राम्रैराम्रो भयो भन्ने होइन, अब अझ गति बढाउनुपर्छ भन्ने हो, यसमा कांग्रेसले विशेष भूमिका खेल्नुपर्छ ।’ 

नेता सिटौलाले मुलुकको भविष्य कांग्रेसकै काँधमा रहेको भन्दै नेपालको नीतिगत नेतृत्व कांग्रेस गरिरहेको जिकिर गरे ।प्रधानमन्त्री जो भए पनि मुलुक बिलियो बनाउने पार्टी कांग्रेस नै भएको उनले स्पष्ट पारे ।

संविधान संशोधनका प्रसंग कोट्याउँदै नेता सिटौलाले देशको आवश्यकता अनुसार संविधान संशोधन गर्ने र यसको अगुवाई कांग्रेसले गर्ने बताए । पार्टीको केन्द्रीय समिति बैठकले पनि यस विषयमा निर्णय गरिसकेको उनले बताए ।

आगामी महाधिवेशन लगत्तै मुलुकको चुनाव हुने भएकाले यसका लागि सबैले अहिलेदेखि नै तयारी गर्नुपर्नेमा उनले जोड दिए ।

“पार्टीको नेतृत्वमा को आउँछ भनेर नसोचौँ, चिन्ता नगरौँ, २०८४ को चुनावका तयारीमा जुटौँ“, उनले भने ।

पार्टीभित्र कहीँ कतै गल्ती भएको रहेछ भने सच्याउँदै अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ । पार्टीले जनतामा जाने कार्यक्रम अघि बढाउन आवश्यक रहेको भन्दै नेता सिटौलाले जनताका समस्या समाधानमा कांग्रेस लाग्नुपर्नेमा जोड दिए ।

अनुशासन समितिको निर्णयका विषयमा केन्द्रीय समितिमा छलफल हुने भन्दै उनले पार्टीभत्र अनुशासन कायम हुनुपर्नेमा उनले जोड दिए ।

संघीय सांसद रामहरि खतिवडाले कांग्रेसको नेतृत्वमा बनेको संविधानमा सबैको भावना समेटिएको बताए । कांग्रेस देशकै ठूलो पार्टी बन्दा जनताले राहत महसुस गर्ने गरे पनि कम्युनिस्टले मुलुकको नेतृत्व गर्दा जनता उकुसमुकुस हुने गरेको उनले जिकिर गरे ।

“समानुपातिक पद्धति अत्यन्तै राम्रो हो, यसमा पछिल्लो समयमा विकृति हुन थालेको छ, सुधार हुन आवश्यक छ’, उनले भने । नेताको चाकडी गर्ने परिपाटी अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।

नेता खतिवडाले सबै पार्टीलाई साथमा लिएर हिंडेमा मात्र कांग्रेसको उचाई माथि हुने भन्दै यसतर्फ नेतृत्वले सोच्नुपर्नेमा जोड दिए ।

पार्टीभित्रका समस्या चिरेर बाहिर मिल्नसके कांग्रेस बलियो हुने उनकोत दावी छ । निजामती विधेयकको कुलिङ पिरियडका सम्बन्धमा आफूले कुनै गल्ती नगरेको उनले जिकिर गरे ।

केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीका बारेमा धेरैले चिन्ता व्यक्त गरिरहेको भन्दै सारै निराश नहुन आग्रह गरे । अरु सबै कुरा छोडेर कांग्रेसलाई बलियो र देशकै मियो पार्टी बनाउन आवश्यक रहेको उनले बताए । 

केन्द्रीय सदस्य गुरु बरालले १५औँ महाधिवेशनको संघारमा नेपाली कांग्रेस नयाँ अध्यायमा प्रवेश गरेको बताए । महाधिवेशन लगत्तै मुलुकको निर्वाचन आउने भएकाले पार्टी र मुलुक हाक्न सक्ने व्यक्तित्वलाई नेतृत्व सुम्पनुपर्नेमा नेता बरालले जोड दिए ।

कांग्रेसप्रति जनताले भरोषा गर्नेगरी सबै कांग्रेसजन लाग्नुपर्नेमा उनले जोड दिए । 

केन्द्रीय सदस्य पुष्पराज पराजुलीले कांग्रेसले आफू बलियो हुने गरी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले कांग्रेसलाई जसले नजरअन्दाज गर्छ त्यो सखाप हुने भन्दै यसमा नेकपा एमालेले बुझ्न आवश्यक रहेको बताए । 

नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठले कांग्रेसलाई जताततैबाट घेराबन्दी गरिएको, विभिन्न आरोप लगाएर नेता कार्यकर्ताको मनोबल गराउने प्रयत्न भइरहेको बताए । 

कांग्रेस नेता देवराज चालिसेले कांग्रेस नभए लोकतन्त्र सुरक्षित हुन सक्छ कि सक्दैन भनी प्रश्न गरे । अनुशासन चुनावमा मात्र होइन सधैँ लागू हुनुपर्नेमा उनले जोड दिए ।

“नेताहरुले सत्ता र कुर्चीका लागि सिद्धान्त बेच्नु, गठवन्धनका नाममा अन्य पार्टीका नेतालाई टिकट दिनु, अनि केही नेताले असन्तुष्टि जनाउँदा कार्वाही भन्नु कति जायज हो, यो अनुशासन हो ?’, उनले प्रश्न गरे । 

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य शारदा पौडेल, पार्टीका गण्डकी प्रदेशका महामन्त्री बिष्णुप्रसाद लामिछाने,  सहमहामन्त्री कोपिला रानाभाट, प्रवक्ता माधवप्रसाद बास्तोला(मधु), बागलुङ सभापति जीत शेरचन, पोखरा महानगर सभापति सुरेन्द्र विजुक्छे, नेताहरु गण्डकी थापा, केशव निर्दाेषी, आईबहादुर गुरुङ, रुमबहादुर खवास, नारायण अधिकारी, लालीमाया रेग्मी, सांसद सुनिता थापा, राधाकृष्ण गुरुङ, कर्नेल कृष्णबहादुर खत्री, गणेश भट्टराई, जितबहादुर गुरुङलगायतले बोलेका थिए ।

नेताहरुले अनुशासनको कार्वाही बेमौसमी बाजा, भ्रष्टाचार बढेको, गठबन्धन सधैँका लागि अन्त्य हुनुपर्ने, सांसद संख्या र प्रदेश संख्या घटाउनु पर्ने, नातावाद र कृपावाद सधैंका लागि अन्त्य हुनुपर्ने, शासकीय स्वरूप अहिले भएकै ठीक छ, भातृ संस्थाको दुर्दशा कहिलेसम्म हेर्ने, पार्टीको नीति निर्देशन सबैले मान्नुपर्ने, कांग्रेस र बीपीको समाजवाद के हो, पार्टीका बारेमा सामाजिक सञ्जालमा छरपष्ट पोखिएको, पार्टीमा समावेशितामा ध्यान दिन नसकिएको, रास्वपाको हस्ताक्षर कार्यक्रम, सहकारी समस्या, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समस्यालगायतका विषयमा नेताहरूको ध्यानाकर्षण गराएका थिए ।

Copyright © 2024 | All rights reserved.