0
प्रतिक्रिया
पोखरा । मुक्तक मञ्च केन्द्रीय समिति पोखराको ३०६औँ श्रृङ्खला शनिबार सम्पन्न भएको छ । श्रृङ्खलामा दर्जन बढी मुक्तककारले भानु जयन्ती विशेष मुक्तक वाचन गरेका थिए ।
कार्यक्रमका विशेष अतिथि पोखरा प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति पद्यराज ढकालले मुक्तक मञ्च प्रतिष्ठित साहित्यिक संस्था भएको बताए ।
मञ्चले गर्ने प्रत्येक साहित्यिक गतिविधिले निकै ठूलो प्रभाव र महत्व राख्ने उनले बताए । उनले भानुभक्तका सम्झनामा केही मुक्तक र गीत प्रस्तुत गरेका थिए ।
मञ्चका अध्यक्ष अम्बिका भण्डारीले नेपाली मात्र होइन अन्तर्राष्ट्रिय साहित्य जगतमै आदिकवि भानुक्तले महत्वपूर्ण गुन लगाएको बताइन् । भानुभक्तकै प्रेरणाले आफू गायन क्षेत्रबाट साहित्य क्षेत्रमा होमिएको भन्दै अध्यक्ष भण्डारीले भानुकै सम्झनामा मीठा मुक्तक वाचन गरिन् ।
मञ्चका निवर्तमान अध्यक्ष रामजीप्रसाद आचार्यले मञ्चले हरेक वर्ष भानु जयन्ती विशेष कार्यक्रम गर्दै आएको बताए । उनले भानुभक्त नेपालीको मात्र होइन विश्वका धेरै देशका नागरिकका मनमा बस्न सफल भएको दावी गरे ।
अग्रज पत्रकार शिव बस्ताकोटी (शिवदाइ) ले भानुभक्तको योगदानलाई वर्षको एक पटक सम्झना मात्र गरेर नपुग्ने भन्दै उनले भाषा, साहित्य र संस्कृतिमा गरेको योगदानको व्यापक खोजी र प्रचार हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा मुक्तककार विष्णुप्रसाद पौडेल, कृष्ण सुवेदी, मुक्तिनाथ अधिकारी, शिवराज बस्ताकोटी, अशोक भुर्तेल, जमुना कायस्त, मनिषा लामिछानेलगायत डेढ दर्जन बढीले मुक्तक वाचन गरेका थिए ।
कार्यक्रम सञ्चालन मञ्चकी सदस्य मनिषा लामिछानेले गरेकी थिइन् ।
मञ्चले हरेक महिनाको अन्तिम शनिबार नियमित मुक्तक वाचन श्रृङ्खला सञ्चालन गर्दै आइरहेको छ । कार्यक्रम पोखरा महानगरपालिका वडा नं ५ प्रस्याङस्थित धर्मस्थली स्कुलमा हुनेछ ।
Copyright © 2024 | All rights reserved.